‘मिस एण्ड मिसेस ब्युटिफुल’को अडिशन

काठमाडौं,
असार २८ ।

‘मिस एण्ड मिसेस ब्युटिफुल’को ११औं र १०औं संस्करणको पहिलो अडिशन शनिबार काठमाडौंको मध्यबानेश्वरस्थित घरना लाउन्ज एन्ड बारमा सम्पन्न भएको छ । दक्ष इन्टरनेशनलको आयोजनामा भएको अडिशनमा मिस र मिसेस दुवै विधामा दुई दर्जनभन्दा बढी प्रतिस्पर्धी सहभागी भएको आयोजकले जनाएको छ । अडिशनमा वरिष्ठ हास्यकलाकार तथा अभिनेता राजाराम पौडेल, वरिष्ठ लोकगायक बोमबहादुर कार्की, पेजेन्ट कोरियोग्राफर अश्विनी झा तथा मिसेस ब्युटिफुल नेपाल २०२५ की विजेता प्रिया कार्की निर्णायकको भूमिकामा रहनुभएको थियो ।

आयोजक समितिका अध्यक्ष तथा दक्ष इन्टरनेशनलका प्रमुख टेकराज पाण्डेले छनोट भएका प्रतिस्पर्धीलाई आगामी सातादेखि एक महिनाको व्यक्तित्व विकास तथा पेजेन्टसम्बन्धी प्रशिक्षण दिइने जानकारी दिनुभयो । उहाँका अनुसार प्रशिक्षणमा मिडिया कम्युनिकेसन, सार्वजनिक वक्तृत्वकला, एमसीइङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, फिटनेस, योग, सेल्फ-मेकअप तथा फेशनसम्बन्धी कक्षा समावेश हुनेछन् ।

ग्रान्ड फिनाले आगामी भदौ ६ गते राष्ट्रिय नाचघरमा आयोजना गरिने जनाइएको छ । अडिशनमा सहभागी हुन छुटेका इच्छुकले अझै दक्ष इन्टरनेशनलको बानेश्वरस्थित कार्यालयमा सम्पर्क गरी आवेदन दिनसक्ने पाण्डेले बताउनुभयो ।

कार्यक्रममा समाजसेवी तथा कलाकार मुना निरौला, मिलापका सम्पादक कृष्ण भुसाल र पेजेन्ट निर्देशक शान्ता के.तामाङ विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा फोटोग्राफी साझेदारमा बद्री थापा, मेकअप पार्टनरमा क्युट केयर एण्ड क्युट हब तथा ड्रेस पार्टनरमा दीना गुरुङ रहनुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार