काठमाडौं,
असार २६ ।
आगामी भदौ १२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पार्वती’को पोस्ट-प्रोडक्सन कार्य तीव्र गतिमा अघि बढिरहेको छ । निर्माण टिमले हाल चलचित्रको डबिङ कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको जनाएको छ । यसैक्रममा चलचित्रकी प्रमुख कलाकार दीपाश्री निरौलाले आफ्नो भागको डबिङ सम्पन्न गर्नुभएको छ ।
डबिङ सम्पन्न गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै अभिनेत्री निरौलाले चलचित्रको कथा र प्रस्तुति आफूले सुरुआतमा कल्पना गरेभन्दा पनि उत्कृष्ट बनेको जिकिर गर्नुभयो । डबिङका क्रममा चलचित्रको सम्पूर्ण भावनात्मक पक्षलाई नजिकबाट महसुस गर्ने अवसर पाएको उल्लेख गर्दै उहाँले फरक शैलीको कथा र मन छुने पटकथाले आफूलाई निकै प्रभावित बनाएको सुनाउनुभयो ।
उहाँका अनुसार ‘पार्वती’ नेपाली समाजको यथार्थ र मानवीय सम्बन्धलाई संवेदनशील ढंगले प्रस्तुत गर्ने चलचित्र हो । दर्शकले चलचित्रमा मनोरञ्जनसँगै भावनात्मक अनुभूति प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उहाँले प्रदर्शनपछि चलचित्रले सबै वर्गका दर्शकको मन जित्ने अपेक्षा रहेको बताउनुभयो ।
चलचित्रकी कथाकार तथा निर्देशक नीता ढुंगाना अधिकारी पनि डबिङ कार्यप्रति उत्साहित देखिनुभएको छ । दीपाश्री निरौलाको डबिङ सम्पन्न भइरहेका क्रममा उपस्थित निर्देशक अधिकारीले आफूले कल्पना गरेकोभन्दा अझ राम्रो चलचित्र तयार भइरहेको बताउनुभयो । कलाकार, प्राविधिक तथा सम्पूर्ण निर्माण टोलीको मिहिनेतका कारण चलचित्रको गुणस्तर उत्कृष्ट बनेको भन्दै उहाँले सबैप्रति आभार व्यक्त गर्नुभयो ।
निर्देशक अधिकारीका अनुसार चलचित्रको सम्पादन, डबिङ, ध्वनि संयोजनलगायतका पोस्ट-प्रोडक्सनका काम निर्धारित तालिकाअनुसार अघि बढिरहेका छन् । प्रदर्शन मिति नजिकिँदै जाँदा प्रचार-प्रसारका कार्यक्रमलाई समेत क्रमशः अगाडि बढाइने उनले जानकारी दिनुभयो ।
‘नीता फिल्मस्’को ब्यानरमा निर्माण भएको ‘पार्वती’मा निर्देशक नीता ढुंगाना अधिकारी स्वयंको अभिनय रहेको छ । चलचित्रमा उहाँसँगै दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारहरूको मुख्य भूमिका छ ।
चलचित्रका निर्माता हरिहर अधिकारी हुनुहुन्छ भने पटकथा शिवम् अधिकारीले तयार पार्नुभएको हो । शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजरको भूमिकामा रहनुभएको छ । चलचित्रको छायांकन सुदीप बरालले गर्नुभएको हो भने सम्पादन साहिल खानले गरिरहनुभएको छ । चलचित्रको पोस्टर डिजाइन रोयल भीमसेनले तयार पार्नुभएको हो ।
निर्माण टिमका अनुसार चलचित्रको प्राविधिक पक्षलाई समेत उच्च प्राथमिकता दिइएको छ । अनुभवी कलाकार र दक्ष प्राविधिकको सहकार्यका कारण चलचित्र गुणस्तरीय बनेको विश्वास निर्माण पक्षले व्यक्त गरेको छ ।
‘नीता फिल्मस्’ले यसअघि पनि चर्चित तथा बहुप्रतीक्षित चलचित्र ‘ह्रस्वदीर्घ’ निर्माण गरिसकेको छ । सोही ब्यानरको नयाँ प्रस्तुति ‘पार्वती’बाट पनि दर्शकलाई फरक स्वादको कथा र सशक्त अभिनय प्रस्तुत गर्ने लक्ष्य निर्माण टिमको रहेको छ ।
पोस्ट-प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘पार्वती’ आगामी भदौ १२ गतेदेखि देशभरका चलचित्र भवनमा प्रदर्शनमा आउने तयारीमा छ । निर्माण पक्षले छिट्टै चलचित्रको गीत, ट्रेलर तथा अन्य प्रचार सामग्री सार्वजनिक गर्दै प्रदर्शन अभियानलाई थप तीव्र बनाउने जनाएको छ ।






