ललितपुर,
असार १६ ।
ललितपुरको जावलाखेलस्थित एनोभा स्किन एण्ड हेयर क्लिनिकले कपाल प्रत्यारोपणका लागि प्रयोग हुने अत्याधुनिक ट्रिभेलिनी माम्बा प्रविधि नेपालमा पहिलोपटक भित्र्याएको जनाएको छ ।
क्लिनिकले आयोजना गरेको विशेष समारोहमा वरिष्ठ छाला रोग विशेषज्ञ डा. स्मृति श्रेष्ठ, मिस नेपाल अर्थ डा. सरिसा श्रेष्ठ, भारतका वरिष्ठ छाला रोग विशेषज्ञ डा. असीम शर्मा, धुलिखेल अस्पताल (काठमाडौं विश्वविद्यालय अस्पताल)को छाला रोग विभाग प्रमुख डा. मनिषा सिंह, क्रिकेटर ललित राजवंशी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा उक्त उपकरण सार्वजनिक गरिएको हो ।
कार्यक्रममा क्लिनिककी सञ्चालिका डा. स्मृति श्रेष्ठले ट्रिभेलिनी माम्बा प्रविधिले कपाल प्रत्यारोपण (एफयूई) प्रक्रियालाई अझ सटीक, सुरक्षित र प्रभावकारी बनाउने बताउनुभयो । उहाँका अनुसार यो उपकरणले चिकित्सकलाई कपालका फोलिकल (ग्राफ्ट) निकाल्ने क्रममा उच्च नियन्त्रण, कम क्षति तथा राम्रो गुणस्तर कायम गर्न सहयोग पुर्याउँछ ।
उहाँले उपकरणमा विभिन्न गति र सञ्चालन मोड समायोजन गर्न सकिने भएकाले बिरामीको कपाल तथा छालाको अवस्थाअनुसार उपचार प्रक्रिया सञ्चालन गर्न सकिने जानकारी दिनुभयो । यसले उपचार प्रक्रियालाई सहज बनाउनुका साथै प्राकृतिक देखिने परिणाम प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
डा. श्रेष्ठले नेपालमै पहिलोपटक यो प्रविधि भित्र्याएर अन्तर्राष्ट्रियस्तरको हेयर ट्रान्सप्लान्ट सेवा उपलब्ध गराउने लक्ष्य राखिएको बताउनुभयो । कपाल झर्ने समस्याबाट पीडित सेवाग्राहीले अब अत्याधुनिक प्रविधिमार्फत नेपालमै गुणस्तरीय उपचार सेवा लिन सक्ने उहाँको भनाइ थियो ।
उपकरण सार्वजनिक समारोहसँगै आयोजित अन्तरक्रिया कार्यक्रममा नेपालको हावापानी, वातावरणीय प्रदूषण तथा जीवनशैलीका कारण छाला र कपालको स्वास्थ्यमा परेको प्रभाव, त्यसको रोकथाम तथा आधुनिक प्रविधिको उपयोगिताबारे छलफल गरिएको थियो ।
जावलाखेलस्थित ज्वाला भवनको तेस्रो तलामा रहेको एनोभा स्किन एण्ड हेयर क्लिनिकले नवीन प्रविधि र गुणस्तरीय सेवामार्फत विश्वस्तरीय कपाल प्रत्यारोपण सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।






