काठमाडौं,
असार १६ ।
जल तथा मौसम विज्ञान विभागले आज (मंगलबार) र भोलि (बुधबार) देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले दुई दिनअघि नै विशेष बुलेटिन जारी गर्दै मनसुनी गतिविधि तीव्र हुने र त्यसका कारण व्यापक वर्षा हुन सक्ने चेतावनी दिएको थियो ।
विभागका अनुसार आज र भोलि मधेस, कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । ती प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षा हुने अनुमान गरिएको छ । साथै, देशका पहाडी तथा तराईका धेरै स्थान र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएकाले मनसुनी गतिविधि सक्रिय भई भारी वर्षाको अवस्था सिर्जना भएको विभागको भनाइ छ ।
भारीदेखि धेरै भारी वर्षाका कारण भूक्षय, बाढी र पहिरोको जोखिम बढ्न सक्ने तथा सहरी र तराई क्षेत्रमा डुबान हुन सक्ने विभागले जनाएको छ । ठूला तथा साना नदी, खोला र नालामा पानीको सतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
विभागले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने उल्लेख गर्दै आवश्यक पूर्वतयारी र सावधानी अपनाउन अनुरोध गरेको छ ।
यसैबीच, जलवायुविज्ञ धर्मराज उप्रेतीले मनसुनी वायु लुम्बिनी र सुदूरपश्चिमतर्फ केन्द्रित हुँदै गएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले लुम्बिनी, पश्चिम चुरे र तराई क्षेत्रमा चट्याङको गतिविधि बढी देखिएको उल्लेख गर्नुभएको छ ।
उहाँका अनुसार कञ्चनपुरको हनुमाननगरमा पछिल्लो ६ घण्टामा १०९ मिलिमिटर वर्षा मापन भएको छ । लुम्बिनीको पश्चिमी क्षेत्रदेखि सुदूरपश्चिमसम्म आज राति र भोलि बिहानतिर बढी वर्षा हुने सम्भावना रहेको उहाँले बताउनुभयो । यद्यपि, मध्य मधेस क्षेत्रमा आगामी दुई दिन ठूलो वर्षाको सम्भावना नरहेको उहाँको भनाइ छ ।






