काठमाडौं,
असार १६ ।
अवैध बाटो हुँदै अमेरिका जाने नेपाली युवाहरूको त्रासद यात्रा, संघर्ष र सपनामाथि आधारित उपन्यास ‘डंकी : सपनाको कालबाटो’ लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा कृतिकार डा.चन्द्र गिरीसँगै मदन पुरस्कार विजेता आख्यानकार कृष्ण धरावासी, पत्रकार तथा उपन्यासकार वसन्त बस्नेत, साहित्यकार बिना थिङ र कवि शंकर गिरी (पथिक)ले संयुक्त रूपमा कृतिको विमोचन गर्नुभएको हो ।
कार्यक्रमका वक्ताहरूले उपन्यासले आप्रवासन, सपनाको खोजी र मानवीय संघर्षको यथार्थ चित्रण गरेको उल्लेख गर्दै देशको जल्दोबल्दो समस्यालाई साहित्यमार्फत प्रभावकारी रूपमा उठाएको बताउनुभयो ।
आख्यानकार कृष्ण धरावासीले ‘डंकी’ आद्योपान्त पठनीय कृति भएको बताउनुभयो । आफ्नो उपन्यास ‘तल्लो बाटो’ सँग विषयगत समानता भए पनि कथाशैली र प्रस्तुतिमा डा.गिरीको कृति फरक रहेको उहाँको भनाइ थियो । सम्बन्धित स्थानमा पुगेर गरिएको अध्ययन र अनुसन्धानका आधारमा लेखिएकाले उपन्यास थप प्रामाणिक र प्रभावशाली बनेको उहाँले जिकिर थियो ।
पत्रकार तथा उपन्यासकार वसन्त बस्नेतले ‘डंकी’ साहित्यिक कृतिमात्र नभई अनुसन्धानमा आधारित सशक्त आख्यान भएको बताउनुभयो । उहाँले अमेरिका नेपाली समाजमा एउटा देशभन्दा पनि मानसिक आकांक्षाको प्रतीक बन्दै गएको टिप्पणी गर्दै उपन्यासले त्यसै यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गरेको उल्लेख गर्नुभयो ।
साहित्यकार बिना थिङले उपन्यासले नेपाली समाजको आर्थिक, सामाजिक तथा राजनीतिक यथार्थलाई समेट्न सफल भएको बताउनुभयो । जोखिमपूर्ण बाटोहुँदै विदेश जान बाध्य नागरिकको समस्याको समयमै समाधान खोज्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
समीक्षक राजकुमार बानियाँले ‘डंकी’ समकालीन नेपाली आप्रवासनको सामाजिक यथार्थमा आधारित सशक्त आख्यान भएको धारणा राख्नुभयो । नेपालीको पीडा र विवशतालाई गहिराइका साथ प्रस्तुत गर्दै डा.चन्द्र गिरीलाई यस कृतिले साहित्यिक पहिचान दिलाएको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा कवि उषा शेरचन र प्रल्हाद पोखरेलले पनि शुभकामना मन्तव्य व्यक्त राख्नुभएको थियो ।
उपन्यासमा इलामका एक युवाले अमेरिका पुग्न रोजेको जोखिमपूर्ण ‘डंकी रूट’ र त्यस क्रममा भोगेका संघर्षलाई संस्मरणात्मक शैलीमा प्रस्तुत गरिएको छ । लेखक डा.गिरीले यो कृति केवल सीमा पार गर्ने यात्राको कथा नभई आशा, साहस, निराशा र आत्मसम्मानको कथा भएको बताउनुभयो । संसारका विभिन्न देशमा भेटिएका नेपाली तथा अन्य आप्रवासीका अनुभवले आफूलाई उपन्यास लेख्न प्रेरित गरेको उहाँको भनाइ थियो ।
बुकहिलद्वारा प्रकाशित ‘डंकी : सपनाको कालबाटो’को मूल्य ७१७ रुपैयाँ निर्धारण गरिएको छ । अमेरिकालाई कर्मथलो बनाउनुभएका वैज्ञानिक तथा लेखक डा.चन्द्र गिरीका यसअघि ‘मैले नदेखेको सपना’ (आत्मकथा) र ‘संसारको सेरोफेरो’ (यात्रा संस्मरण) जस्ता कृति प्रकाशित छन् ।






