काठमाडौं,
असार १३ ।
दुई दशकदेखि रङ्गमञ्चमा लेखन, निर्देशन तथा अभिनयमा सक्रिय कलाकार प्रदीपकुमार चौधरी ‘पिके डन’ को डेब्यू निर्देशकीय चलचित्र ‘तरङ्ग’ आगामी मंसिर १८ गतेदेखि रिलिज हुने भएको छ । निर्माण टिमले शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै रिलिजको मिति टुंगो लगाएको हो ।
देवदत क्रियशनको ब्यानरमा निर्माण भएको यो चलचित्र श्रीराम बालाजी फिल्मको लागि सुनिल मानन्धरले वितरण गर्दैहुनुहुन्छ । पोस्टरमा प्रमुख कलाकारहरू वरुण अधिकारी, रविना केसी, बारात लिम्बु र कृष्ण थापा फिचर्ड हुनुहुन्छ । यो चलचित्रमा सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग, बाल कलाकार प्रन्शु चौधरी लगायतका कलाकार प्रमुख अभिनयमा हुनुहुन्छ ।
तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता हरिनारायण चौधरी हुनुहुन्छ । महेश पौडेलको छायांकन रहेको चलचित्रमा सन्देश शाहको सम्पादन, सम्राट बस्नेतको एक्सन, मनोज थापामगर, पवन गिरी र मनोज महतोको संगीत समावेश छ ।
चलचित्रका गीतमा सुगम पोखरेल, मेलिना राई, पवन गिरी, मनोज महतो, मनोज थापा मगरको स्वर छ । मोरङ, सुनसरी, पाल्पा, रुपन्देही, चितवन र कास्कीमा छायांकन गरिएको चलचित्र सुपर नेचुरल लभस्टोरी (अलौकिक प्रेम कथा)को संगम रहेको निर्देशक प्रदीपले बताउनुभयो । चलचित्रको निर्माणमा देवदत क्रियशनसँग एवी फिल्मीले सहकार्य गरेको छ ।






