काठमाडौं,
असार १२ ।
डा. कपिल रिजालको निर्देशनमा बनेको चलचित्र ‘गौँथली’ आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा सार्वजनिक गरिएको चलचित्रको टिजर र पहिलो गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ ।
दुई दशकअघि निर्माण भएको ‘गौँथली’ को मूल अवधारणामा आधारित यस चलचित्रले पढ्न चाहने युवतीको विवाहपछि सासुले गर्ने अत्याचार र त्यसले निम्त्याउने सामाजिक तथा पारिवारिक अवस्थालाई मुख्य विषयवस्तु बनाएको छ ।
युट्युबमा सार्वजनिक टिजरलाई दर्शकले भावुक, यथार्थपरक र सामाजिक सन्देश बोकेको भन्दै प्रशंसा गरेका छन् । टिजरका संवाद, विषयवस्तु र कलाकारहरूको अभिनयप्रति पनि सकारात्मक प्रतिक्रिया आएको निर्माण पक्षको दाबी छ ।
टिजर र गीतले राम्रो प्रतिक्रिया पाएपछि निर्देशक रिजालले खुसी व्यक्त गर्नुभएको छ । दर्शकले चलचित्रको कथा, अभिनय र शारीरिक समस्याले व्यक्तिको जीवनमा पार्ने प्रभावलाई सकारात्मक रूपमा ग्रहण गरेको उहाँले बताउनुभयो ।
चलचित्रको टिजरपछि अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्काको अभिनयप्रति दर्शकको विशेष चासो देखिएको छ । चलचित्रमा अरुणले अटिजम भएका युवकको भूमिका निर्वाह गर्नुभएको छ, जुन उहाँका अघिल्ला रोमान्टिक भूमिकाभन्दा फरक रहेको निर्देशकको भनाइ छ । सिम्रनको अभिनयले पनि दर्शकको ध्यान आकर्षित गरेको प्रतिक्रिया प्राप्त भएको छ ।
गीतकार, निर्माता तथा लेखक डा. भोला रिजालको कथामा आधारित चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, सीतादेवी तिमिल्सिना, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, लक्ष्मीनाथ तिमिल्सिना, अंशु ओली र प्रिन्स नेपालीलगायत कलाकारहरूको अभिनय छ । चलचित्रका निर्माता सुमन गिरी र निर्देशक डा. कपिल रिजाल हुनुहुन्छ ।






