रास्वपा महाधिवेशन : यस्तो छ आज बन्द सत्रको कार्यतालिका

चितवन,
असार ८ ।

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज दोस्रो दिन बन्द सत्रका कार्यक्रमहरू सञ्चालन हुँदैछन् । आइतबारदेखि सुरु भएको महाधिवेशन ९ गतेसम्म चल्नेछ । पार्टी महामन्त्रीले सञ्चालन गर्ने आजको बन्द सत्रमा विभिन्न महत्त्वपूर्ण प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र निर्वाचन प्रक्रिया सुरु गर्ने कार्यतालिका रहेको छ ।

बिहान ७ बजेको खाजापछि ८ः३० बजे पार्टी सभापतिले दोस्रो सत्रको प्रारम्भ गर्ने कार्यक्रम छ । त्यसलगत्तै ८ः३० देखि ८ः५० सम्म अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुनेछ । बिहान ९ बजेदेखि ९ः३० सम्म कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने तालिका तय भएको छ । आर्थिक प्रतिवेदनमाथिको छलफल सकिएपछि आधा घण्टाको चिया ब्रेक हुनेछ ।

चिया ब्रेकपछि बिहान १० बजेबाट पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । उक्त प्रतिवेदनमाथि करिब ४५ मिनेट छलफल हुनेछ । लगत्तै १०ः४५ देखि ११ः४५ सम्म पार्टी सहमहामन्त्रीको अगुवाइमा पार्टीको ‘विधान’ माथि छलफल तथा पास गर्ने कार्यतालिका छ । विधान पारित भएपछि बिहान ११ः४५ बजे पार्टी सभापतिद्वारा राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । एक घण्टाको छलफलपछि उक्त राजनीतिक प्रतिवेदन पनि आजै पास गर्ने रास्वपाको तयारी छ ।

राजनीतिक प्रतिवेदन पास भएलगत्तै दिउँसो १२ः४५ बजे अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गरिनेछ । सोही समयमा पार्टी सभापतिले आयोजक समितिका तर्फबाट सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछन् । दिउँसो १ बजेदेखि २ः३० सम्म खानाको समय छुट्याइएको छ । खानापछि निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्नेछ । त्यसपछिका कार्यक्रमहरू आयोगले प्रकाशन गर्ने सूचनाअनुसार निरन्तर अघि बढ्ने कार्यतालिकामा उल्लेख छ ।

यसमा तपाइको मत

अन्य समाचार