काठमाडौं,
असार ५ ।
फेसन तथा इन्टेरियर डिजाइन क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूको सिर्जनशीलता, सीप र नवप्रवर्तनलाई उजागर गर्ने उद्देश्यले आयोजित ‘आईआईएफटी स्टाइल एन्ड डिजाइन सिजन-१’ को ग्राण्ड फिनाले काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ ।
आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनद्वारा आयोजित उक्त कार्यक्रम ‘कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड-२०२६’ सँगको सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रमले फेसन तथा डिजाइन अध्ययनरत विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने प्रभावकारी मञ्च प्रदान गरेको आयोजकले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाले विद्यार्थीहरूको क्षमता, मिहिनेत र सिर्जनात्मकतालाई राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर उपलब्ध गराएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले भावी फेसन तथा इन्टेरियर डिजाइनरहरूलाई व्यावसायिक यात्राका लागि थप प्रेरणा र आत्मविश्वास प्रदान गर्ने उल्लेख गर्नुभयो ।
प्रतियोगितामा १० विभिन्न ब्याचका ५५ जना विद्यार्थी सहभागी भएका थिए। सहभागीहरूले टोलीगत रूपमा प्रतिस्पर्धा गर्दै फरक–फरक विषयवस्तुमा आधारित १० वटा डिजाइनर पोशाक तयार गरेका थिए। ती पोशाकहरूलाई हाउस अफ फेसनका व्यावसायिक मोडलहरूले रनवेमा प्रस्तुत गरेका थिए ।
आयोजकका अनुसार विद्यार्थीहरूले महिनौंको अनुसन्धान, डिजाइन विकास, सिर्जनात्मक अभ्यास तथा प्रस्तुतीकरणमार्फत आफ्नो अद्वितीय प्रतिभा प्रदर्शन गरेका थिए । प्रतियोगिताले कक्षाकोठामा हासिल गरेको ज्ञानलाई व्यवहारिक अभ्यासमा रूपान्तरण गर्दै व्यावसायिक अनुभव प्राप्त गर्ने अवसरसमेत प्रदान गरेको जनाएको छ ।
प्रतियोगितामा ८६औं ब्याच प्रथम हुन सफल भएको छ । विजेता टोलीमा विजेता टोलीमा यु यान वाङ (सेलिना शाही), सितल रुम्बा, सरिता चौधरी तथा चन्द्र खड्का रहनुभएको छ ।
आयोजकले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई व्यावसायिक प्रतिस्पर्धाका लागि तयार पार्नुका साथै नेपाली फेसन तथा डिजाइन उद्योगमा नयाँ प्रतिभा भित्र्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।






