काठमाडौं,
असार ५ ।
चलचित्र ‘बा : एक योद्धा’ आगामी भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । बुबाको मुख हेर्ने दिन (कुशे औँसी)को अवसर पारेर चलचित्र प्रदर्शनमा ल्याउन लागिएको निर्माण पक्षले जनाएको छ ।
चलचित्रको सम्पूर्ण कथा ‘बा’पात्र वरिपरि केन्द्रित रहेपनि उक्त मुख्य भूमिकामा कुन कलाकारले अभिनय गरेका छन् भन्ने विषयलाई निर्माण टिमले हालसम्म गोप्य राखेको छ । निर्देशक हरि लम्सालका अनुसार चलचित्रका अन्य महत्त्वपूर्ण विवरणसँगै मुख्य पात्रको परिचय पनि छिट्टै सार्वजनिक गरिनेछ ।
हाल चलचित्रको छायांकन सम्पन्न भइसकेको छ भने पोष्ट–प्रोडक्सनको काम तीव्र रूपमा अघि बढिरहेको छ । निर्माण पक्षले चलचित्रमा सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया शर्मा र शवि थापाको अभिनय रहेको जानकारी यसअघि सार्वजनिक गरिसकेको छ । त्यसअघि झरना थापा, सुहाना थापा तथा दिव्यदेव पन्त चलचित्रमा अनुबन्धित भएको जानकारी दिइएको थियो ।
नेपाली सांगीतिक क्षेत्रमा स्थापित स्रष्टाका रूपमा परिचित हरि लम्सालले यस चलचित्रमार्फत फिचर फिल्म निर्देशनमा डेब्यु गर्नुभएको हो । आर्टिष्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा पटकथा पनि लम्साल स्वयंले तयार पार्नुभएको छ ।
चलचित्रका निर्माता वसन्त लम्साल हुनुहुन्छ । उहाँले यसअघि चलचित्र ‘कर्मा’ निर्माण गर्नुभएको थियो । चलचित्रमा शिवराम श्रेष्ठको छायांकन छ भने तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा हुनुहुन्छ । चलचित्रलाई कुवेर सिने डिस्ट्रिब्युसनले देशभर वितरण गर्ने जनाइएको छ ।






