काठमाडौं,
जेठ ३१ ।
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य खप्तड क्षेत्रमा छायांकन गरिएको नयाँ गीत ‘चाहेर हुँदैन माया’ सार्वजनिक गरिएको छ । बझाङ, डोटी, अछाम र बाजुरा जिल्लाको संगमस्थल खप्तड क्षेत्रको प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व तथा जैविक विविधतालाई केन्द्रमा राखेर निर्माण गरिएको उक्त गीतको दृश्य सामग्री एभरेष्ट ग्यालरीको ‘दृश्यमा नेपाल’ अभियानअन्तर्गत तयार गरिएको हो । एभरेस्ट ग्यालरी टोलीले खप्तड क्षेत्रमै तेस्रो पटक पुगेर यसको छायांकन गरेको जनाएको छ ।
गीतमा गायक सिडी विजय अधिकारी र गायिका समीक्षा अधिकारीको स्वर छ । गीतको संगीत पनि सिडी विजय अधिकारीले नै तयार गर्नुभएको हो भने शब्द नेपाल सरकारका सहसचिव तथा गीतकार हेमराज तामाङले सिर्जना गर्नुभएको हो ।
पुष्कर खत्रीको संगीत संयोजन रहेको गीतको दृश्य सामग्रीको निर्देशन जनक सिंहले गर्नुभएको छ । यसमा कलाकार सनम कठायत र कविता न्यौपानेको प्रेमिल अभिनय प्रस्तुत गर्नुभएको छ । गीतको दृश्यांकन दीपक गिरीले गर्नुभएको हो भने सम्पादन विकास दाहालको छ ।






