ललितपुर,
जेठ ३० ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश समितिको आयोजनामा ‘संस्कृति र पर्यटन’ विषयक वृहत् गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम शनिबार ललितपुरको पुल्चोकस्थित ताम्राकार समाज भवनमा सम्पन्न भएको छ।
बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रममा आदिवासी जनजाति समुदायका सांस्कृतिक सम्पदा, पर्यटन प्रवर्द्धनका सम्भावना तथा संरक्षणका विषयमा व्यापक छलफल गरिएको थियो । कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायका प्रतिनिधि, पत्रकार तथा संस्कृति र पर्यटन क्षेत्रसँग आबद्ध व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
फोनिज उपत्यका समन्वय प्रदेश समितिका अध्यक्ष प्रशान्त मालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । साथै, फोनिजका संघीय अध्यक्ष लक्की चौधरी, महासचिवसहित संघीय पदाधिकारी, बागमती प्रदेश तथा अन्य प्रदेश समितिका प्रतिनिधिहरूको पनि उपस्थिति थियो ।
कार्यक्रममा वक्ताहरूले नेपालको बहुभाषिक, बहुसांस्कृतिक तथा बहुजातीय पहिचानलाई पर्यटनसँग जोडेर आर्थिक समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले आदिवासी जनजातिका मौलिक संस्कृति, परम्परा, भाषा, कला र जीवनशैलीलाई पर्यटन प्रवर्द्धनको महत्वपूर्ण आधारका रूपमा विकास गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।
अन्तरक्रियामा सहभागीहरूले सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि राज्य, स्थानीय तह र सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका थिए । उनीहरूले सांस्कृतिक विविधताको संरक्षणसँगै त्यसलाई पर्यटन विकाससँग जोड्न सके स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने धारणा राखे ।
कार्यक्रमको सञ्चालन फोनिज उपत्यका समन्वय प्रदेश समितिका महासचिव प्रविन किरातीले गर्नुभएको थियो । कार्यक्रममा समितिका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
फोनिजले यस्ता कार्यक्रममार्फत आदिवासी जनजातिको संस्कृति संरक्षण, पत्रकारिता विकास तथा पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।






