अमेरिका,
जेठ १६ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा अमेरिकाको डेनभरमा आयोजित नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको अवसर पारेर वरिष्ठ साहित्यकार खिमानन्द आचार्यका सातवटा साहित्यिक कृतिको एकसाथ लोकार्पण गरिएको छ ।
सम्मेलनमा प्रमुख अतिथिका रूपमा उपस्थित साहित्यकार नवराज लम्सालले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा प्रवासमा रहेका स्रष्टाहरूको योगदान उल्लेखनीय रहेको बताउनुभयो । उहाँले साहित्यले देश, समाज र पुस्तालाई जोड्ने महत्त्वपूर्ण सेतुका रूपमा काम गर्ने धारणा व्यक्त गर्दै प्रवासमा बसेर पनि नेपाली साहित्य सिर्जनामा सक्रियरहनु गौरवको विषय भएको उल्लेख गर्नुभयो ।
कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी लगायत विभिन्न मुलुकबाट सहभागी साहित्यकार, लेखक तथा नेपाली भाषाप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा साहित्यकार खिमानन्द आचार्य का ‘देश दुःखेको बेला’ (कविता संग्रह), ‘अस्पतालको शैय्याबाट’ (कथा संग्रह), ‘स्वदेशदेखि प्रदेशसम्म’ (उपन्यास), ‘आँखी झ्याल’ (लघुकथा संग्रह), ‘अन्जन’ (उपन्यास), ‘जुन तारा’ (बालकविता संग्रह) र ‘छोरा बुहारी’ (उपन्यास)को सामूहिक रूपमा लोकार्पण गरिएको थियो ।
लोकार्पित कृतिमाथि वक्ताहरूले टिप्पणी गर्दै आचार्यका सिर्जनामा नेपाली समाज, प्रवासको पीडा, मानवीय संवेदना, सामाजिक यथार्थ र सांस्कृतिक चेतनाको प्रभावशाली प्रस्तुति पाइने बताएका थिए । वक्ताहरूले उहाँका रचनाले नेपाली समाजको बदलिँदो परिवेश, पारिवारिक सम्बन्ध, स्वदेश–प्रवासको मनोविज्ञान तथा जीवनसंघर्षलाई कलात्मक रूपमा चित्रण गरेको उल्लेख गरेका थिए ।
दीर्घकालदेखि अमेरिकाको ग्रेटर वासिङ्टन मेट्रो क्षेत्रमा बसोबास गर्दै आउनुभएका साहित्यकार खिमानन्द आचार्य नेपाली भाषा, साहित्य र संस्कृतिका सक्रिय संवाहकका रूपमा परिचित हुनुहुन्छ । उहाँका यसअघि ‘धर्तीका माकुरा’ (कविता संग्रह), ‘अनेक डायस्पोराका कविता’ (कविता संग्रह), ‘पागल साथी’ (कथा संग्रह), ‘मनका तरङ्गहरू’ (गीति संग्रह), ‘पश्चाताप’ (लघुकथा संग्रह) तथा ‘आस्थाका विम्बहरू’ (कविता संग्रह) जस्ता कृतिहरू प्रकाशित छन् ।
साहित्यकार आचार्य नेपालको अर्घाखाँची जिल्लाको डिभर्नामा जन्मिनुभएको हो । उहाँले नेपालको जेठो पत्रिका गोरखापत्र मा करिब २६ वर्षसम्म नेपाली भाषाको सेवामा योगदान पुर्याउनुभएको थियो । पत्रकारिता, साहित्य र सांस्कृतिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका आचार्य हाल अमेरिकामा परिवारसहित बसोबास गर्दै आउनुभएको छ ।
सम्मेलनमा सहभागी साहित्यकारहरूले नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न यस्ता सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए । प्रवासमा रहेर पनि नेपाली पहिचान, भाषा र संस्कृतिको जगेर्ना गर्न साहित्यिक गतिविधि प्रभावकारी माध्यम बनेको उनीहरूको भनाइ थियो ।






