काठमाडौं,
जेठ ११ ।
यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘रोल नं १’को नयाँ गीत ‘मेरो लागि तिमी’ सार्वजनिक गरिएको छ । भावनात्मक शैलीमा तयार पारिएको यो गीत सिभेन सिज सिनेमाको युट्युबबाट सार्वजनिक गरिएको हो ।
गीतमा स्वर, संगीत र शब्द प्रशान्त शिवाकोटीको छ । सन्तानका लागि आमाबुबा र आमाबुबाका लागि सन्तान कति महत्वपूर्ण छन् भन्ने गीतमा देखाएको छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार फिचर्ड छन् । विनोद पौडेलको निर्माण रहेको चलचित्रले विद्यार्थीको मनोविज्ञानको कथा भन्ने निर्माणपक्षले बताएको छ ।
जोन योञ्जनको निर्देशनमा तयार यस चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्रको बालकलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ हुनुहुन्छ ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सहनिर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं हुनुहुन्छ । ‘रोल नं १’लाई महेश दवाडीले लेख्नुभएको हो भने शिवराम श्रेष्ठको डीओपी, मदन घिमिरेको सम्पादन छ ।
निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले चलचित्रलाई वितरण गर्दैछन् ।






