‘बेहुली’ को ईण्डक्ल्याप

काठमाडौं,
जेठ ८ ।

पारस बम ठकुरी (कुल ब्वाइ), दिव्या रायमाझी र सुशान्त कार्की अभिनीत नेपाली चलचित्र ‘बेहुली’ को छायांकन ४५ दिनमा सम्पन्न भएको छ ।

द डिभाइन म्युजिक तथा सम्मान इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र आगामी जनै पूर्णिमाको अवसर पारेर भदौ १२ गते प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । चलचित्रका दुई गीतको छायांकन भने बाँकी रहेको निर्देशक सशान कँडेलले जानकारी दिनुभयो ।

चलचित्रमा कुल ब्वाइ र दिव्याको जोडीलाई लिएर दर्शकमाझ विशेष चासो देखिएको छ । ‘होस्टेल ३’ बाट अभिनय यात्रा सुरु गर्नुभएका कुल ब्वाइ यसपटक दिव्यासँग प्रेमकथामा देखिनुहुनेछ ।

संगीतकार अर्जुन पोखरेलको निर्माण रहेको चलचित्रको कथा माधव शर्माले लेख्नुभएको हो । चलचित्रमा पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा लगायतका कलाकारको अभिनय छ ।

नरेन्द्र मैनालीको छायाङ्कन रहेको चलचित्रलाई विकास दाहालले सम्पादन गर्नुहुनेछ भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ । चलचित्र काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र बाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन् ।

यसमा तपाइको मत

अन्य समाचार