काठमाडौं,
जेठ ८ ।
आजदेखि सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाहलमा आएका चलचित्र हुन् लक्ष्मण रिजालको निर्देशन रहेको ‘काजी’ र अनिल बुढा मगर निर्देशित ‘मितज्यू’ । हलहरूले दुवै चलचित्रको अग्रिम बुकिङ खुला गरेका छन् ।
‘काजी’मा काजी र कजिनीको प्रेम देखाइएको छ । चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा हुनुहुन्छ । उहाँहरूसँगै चलचित्रमा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दीपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धिसागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बालकलाकार दिक्षिता अर्याललगायत कलाकारले अभिनय गर्नुभएको छ ।
लेखक प्रदीप भारद्वाजको कथा रहेको चलचित्रको निर्मातामा नेहान रिजाल, विकासराज जोशी रहनुभएको छ । रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्र रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । यस चलचित्रले केन्द्रीय चलचित्र जाँचपास समितिबाट ‘युनिभर्सल सर्टिफिकेट’ पाएको छ ।
असीम काफ्ले कार्यकारी निर्माता रहेको चलचित्र चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर, सागर अर्यालको साउण्ड डिजाइनर र सुजिल कर्माचार्यको पार्श्व संगीत, प्रोडक्सन हेड प्रकाश हमाल, विपिन मल्लको सम्पादन, बनिश शाहको सुपरभाइजर सम्पादनमा बनेको छ । चलचित्र श्रीराम बालाजी फिल्मस्ले नेपालभर वितरण गरेको छ ।
त्यस्तै, ग्रामीण परिवेशको सामाजिक कथावस्तुमा आधारित यस चलचित्रमा अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य अभिनय छ । चर्चित डान्सर टेरिया फौज मगरले यसै चलचित्रबाट अभिनेत्रीका रूपमा डेब्यु गर्नुभएको छ । यस्तै, चलचित्रमा खड्गबहादुर पुन मगर, शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतका कलाकारको अभिनय छ । यस चलचित्रलाई पनि केन्द्रीय चलचित्र जाँचपास समितिले ‘युनिभर्सल सर्टिफिकेट’ दिएको छ ।
शिशिर विशंखेको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेको ‘मितज्यू’मा श्रीकृष्ण बम मल्लको संगीत तथा मेलिना राई र लक्ष्मी मल्लको स्वर छ । जिएम मुभिज प्रोडक्सनको ब्यानरमा जनक घर्ती मगरले निर्माण गरेको यस चलचित्रमा समावेश ‘गैराघरे काँइली’ र ‘भुनभुन माहुरी’ बोलका गीतहरू टिकटक र युट्युबमा निकै चर्चामा छन् । आरआर फिल्मस्ले वितरणको जिम्मा लिएको यस चलचित्रको डिजिटल अधिकार भने ओएसआर डिजिटलले खरिद गरेको छ ।






