प्रदर्शनमा ‘एक मुठ्ठी बादल’

काठमाडौं,
जेठ १ ।

चलचित्र हलमा ‘एक मुठ्ठी बादल’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत आज (शुक्रबार)देखि यो चलचित्र प्रदर्शनमा आएको हो । सहारा शर्मा निर्देशित यो चलचित्रको बुधबार काठमाडौंस्थित बिग मुभिजमा प्रिमियर गरिएको थियो । प्रिमियरमा अभिनेत्री आँचल शर्मा रातो गाउन र लामो घुम्टोमा बेहुलीझैं सजिएर उपस्थित हुनुभएको थियो । महिला नौमती बाजा समूहको प्रस्तुतीसहित कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा चलचित्रको कथावस्तुसँग मेल खाने गरी महिलाको उपस्थितिलाई विशेष प्राथमिकता दिइएको देखिन्थ्यो ।

चलचित्रमा आँचलले ‘माइली’ नामक पात्रको भूमिका निर्वाह गर्नुभएको छ । विवाहको तयारीमा रहेकी युवतीको भावनात्मक जटिलता, सामाजिक अपेक्षा र महिलाले भोग्ने व्यक्तिगत अनुभवलाई चलचित्रले संवेदनशील ढंगले प्रस्तुत गरेको निर्माण टोलीको भनाइ छ ।
प्रिमियरमा सहभागी दर्शकहरूले चलचित्रको कथावस्तु, अभिनय तथा कथावाचन शैलीको प्रशंसा गरेका थिए । मध्यमवर्गीय नेपाली परिवारको यथार्थपरक चित्रण गरिएको भन्दै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको निर्माण पक्षले जनाएको छ ।

निर्देशक सहारा शर्माले नेपाली चलचित्रमा कमै देखाइने महिलाका भावना र अनुभवलाई केन्द्रमा राखेर कथा तयार गरिएको जानकारी गराउनुभयो । निर्माता अभिमन्यु दीक्षितले आफूहरूले मनदेखि चिलचित्र निर्माण गरेको बताउँदै दर्शकलाई चलचित्र हेरेर थप दर्शकमाझ पुर्‍याउन आग्रह गर्नुभयो ।

प्रिमियरमा निर्माता अभिमन्यु दीक्षित, सामिप्यराज तिमल्सेना, निकुन श्रेष्ठ तथा अनुप पौडेलले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा कलाकार तथा निर्माण टोलीसँग सञ्चारकर्मीहरूको अन्तर्क्रिया पनि आयोजना गरिएको थियो ।

चलचित्रमा आँचल शर्मासँगै निशा शर्मा, उषा रजक, सहयोग अधिकारी, शेखर चापागाई, मनिष निरौला, अविरल प्रताप अधिकारी, गौरव विष्ट, भीमा मैनाली, अस्मिता गौतमलगातका कलाकारको अभिनय छ । चलचित्रको रनटाइम ११७ मिनेट रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार