काठमाडौं,
वैशाख २२ ।
चलचित्र ‘महाराजधिराज’को शुभमुहूर्त गरिएको छ । काठमाडौंस्थित बंगलामुखी मन्दिरमा शंखधुन र पञ्चेबाजासहित गरिएको शुभमुहूर्त पूजा बिहान ८ बजेदेखि सुरु भई ११ः११ बजेसम्म चलेको थियो । शुभमुहूर्त कार्यक्रममा चलचित्रका मुख्य कलाकारहरू पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिग्देललगायतको उपस्थिति थियो । साथै, निर्देशक परिच्छेद सेनसहित अन्य कलाकार तथा प्राविधिक टोलीको पनि सहभागिता थियो । निर्देशक सेनका अनुसार ‘महाराजधिराज’ उहाँको ड्रिम प्रोजेक्ट हो ।
चलचित्रको छायांकन यही महिनाको २५ गतेदेखि सुनसरीबाट सुरु गरिने जनाइएको छ । पहिलो चरणको छायांकन सुनसरीको श्रीलंका टापु क्षेत्रमा एक सातासम्म हुनेछ । त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा रमणीय स्थानहरूमा करिब ७० दिन छायांकन गरिने योजना रहेको छ । चलचित्रको छायांकन नबराज थापाले गर्नुहुनेछ ।
लामो समय लगाएर तयार पारिएको स्क्रिप्टमा आधारित ‘महाराजधिराज’ सामाजिक ड्रामा भएको निर्देशक सेनले बताउनुभयो । चलचित्रमा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित विष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डिसी, सुशील सिटौलालगायतका कलाकारको अभिनय रहनेछ ।
यसैगरी हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदीप अधिकारी, कमल देवकोटालगायत कलाकारको पनि चलचित्रमा अभिनय रहनेछ । चलचित्रमा करिब ८० जना कलाकार समेटिएको जनाइएको छ ।
चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले बलियो कलाकार टोलीका कारण चलचित्र पनि उत्कृष्ट बन्ने विश्वास व्यक्त गर्नुभएको छ । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यस चलचित्रमा निर्देशक सेनकै लेखन छ भने निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहनुभएको छ । निर्माण टिमका अनुसार ‘महाराजधिराज’ आगामी बडादशैँको फूलपातीको अवसर पारेर प्रदर्शनमा ल्याइने तयारी गरिएको छ ।






