‘आ बाट आमा २’ को शुभमुर्हूत, दशैँमा प्रदर्शन

ललितपुर,
वैशाख २१

चलचित्र ‘आ बाट आमा-२’ को शुभमुर्हूत गरिएको छ । सोमबार बिहान निर्माण टिमले पाटनको बंगलामुखी मन्दिरमा चलचित्रको शुभुमूर्हत गरेको हो । चन्द्र पन्तको निर्देशनमा बन्ने यो चलचित्रको निर्माण टिमले स्क्रिप्ट पूजाअर्चना गर्दै कामलाई अगाडि बढाएको छ । यो चलचित्र अघिल्लो वर्षको सुपरहिट फिल्म ‘आ बाट आमा’ को दोस्रो पार्ट हो ।

‘आ बाट आमा’ का केही कलाकारले ‘आ आमा–२’ मा पनि निरन्तरता पाएका छन् । विपना थापा, पल शाह, प्रदीप रावत, गजित विष्टलगायत कलाकार दोहोरिनुभएको छ । दोस्रो पार्टमा आकाश श्रेष्ठ र नरेन खड्का जोडिनुभएको छ अभिनेत्री भने छनोट हुन बाँकी रहेको जनाइएको छ ।

अन्य कलाकार छनोटको काम भइरहेको निर्देशक पन्तले बताउनुभयो । उहाँका अनुसार केही दिनमा नै चलचित्र सम्पूर्ण कलाकार छनोट गरिनेछ । निर्देशक पन्तले यो चलचित्रको छायांकनको समय तालिका केही दिनमा नै टुंगो लाग्ने बताउनुभयो । अहिले चलचित्रका लागि कलाकार तथा अन्य प्राविधिक पक्षको छनोट भइरहेको उहाँको भनाइ थियो । निर्माण टिमले एक महिनाअघिबाट नै यो चलचित्र आगामी बडादशैँमा प्रदर्शनमा ल्याउने जानकारी दिएको थियो । यस चलचित्रको कथा तथा पटकथा निर्देशक पन्तकै रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार