म्युजिक भिडियो कलाकार सङ्घको सम्मान

काठमाडौं,
वैशाख २० ।

म्युजिक भिडियो कलाकार सङ्घद्वारा क्यालेन्डर विमोचन तथा कलाकार सम्मान गरिएको छ । काठमाडौंमा एक विशेष कार्यक्रमबीच वार्षिक क्यालेन्डर तथा भित्तेपात्रो विमोचन, विशिष्ट तथा वरिष्ठ कलाकारहरूलाई मानार्थ सदस्यता परिचयपत्र वितरण तथा मनोनित सल्लाहकारहरूलाई नियुक्तिपत्र प्रदान गर्ने गरिएको हो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा वरिष्ठ सङ्गीतकर्मी शम्भु राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सभापतित्व सङ्घका कार्यवाहक अध्यक्ष सुनील लामिछानेले गर्नुभएको थियो ।

कार्यक्रममा दुर्गा राईमाझी, नारायण राईमाझी, प्रस्तोता समाजका अध्यक्ष नरहरि प्रेमी, चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी, रोयल्टी संकलन समाजका उपाध्यक्ष पी एन सापकोटालगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो । साथै सङ्घका सल्लाहकारहरू बाबुराज केसी ‘उज्ज्वल’, हरि डाँगी, देवेन्द्र बजगाईं, शेषकान्त पुरी, घनश्याम आचार्य, शिवन पोखरेल लगायतको उल्लेखनीय सहभागिता थियो ।

उक्त अवसरमा म्युजिक भिडियो क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउनुभएका कलाकारहरू राजेश हमाल, भुवन केसी र धिरेन शाक्यलाई ‘विशिष्ट म्युजिक भिडियो कलाकार’ को मानार्थ परिचयपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी संस्थाकी संस्थापक अध्यक्ष अन्जु निरौला, निवर्तमान अध्यक्ष सम्झना बुढाथोकी, सुरवीर पण्डित, बिनोद श्रेष्ठ, सविन श्रेष्ठ, रञ्जन रिजाल, अशोक घिताल तथा लोकप्रिय कलाकार पल शाहलाई ‘वरिष्ठ म्युजिक भिडियो कलाकार’को मानार्थ परिचयपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका संयोजक तथा महासचिव सनम कठायतले म्युजिक भिडियो क्षेत्रलाई संस्थागत, व्यवस्थित र मर्यादित बनाउँदै कलाकारहरूको पेशागत सम्मान अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले वार्षिक क्यालेन्डरमा समावेश कार्यक्रमहरू सफल बनाउन सबै कलाकार, स्रष्टा र शुभेच्छुकहरूको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा वक्ताहरूले संस्थाको उद्देश्य अर्थपूर्ण रहेको उल्लेख गर्दै यसले कलाकारहरूको हकहित र पेशागत सम्मानका लागि बलियो संस्थाका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए । साथै सङ्घले कलाकारद्वय दुर्गा भट्ट र निरुता कुवर बिष्टलाई आर्थिक सहयोगसमेत प्रदान गरेको जनाएको छ । कार्यक्रममा नेपाली कलाकारिता क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो ।

यसमा तपाइको मत

अन्य समाचार