काठमाडौं,
वैशाख १२ ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्ती हटाउने कार्य आज (शनिबार) बिहानदेखि सुरु गर्ने भएको छ ।
प्रशासनका अनुसार नदीको प्राकृतिक बहावमा असर परेको तथा सहरी पूर्वाधार निर्माणमा अवरोध पुगेको निष्कर्षसहित वैशाख ११ गते साँझ ७ बजेसम्मका लागि अन्तिम समयसीमा तोकिएको थियो ।
उक्त समयसीमा समाप्त भएसँगै आज वैशाख १२ गते बिहान ६ बजेदेखि अनधिकृत घरटहराहरू हटाउने र अतिक्रमित क्षेत्र पूर्ण रूपमा खाली गराउने अभियान अघि बढाइने भएको हो ।
यसअघि शुक्रबार जारी सूचनामार्फत प्रशासनले सम्बन्धित बासिन्दालाई घरटहरा खाली गर्न, आफ्ना निजी सामान, लत्ताकपडा तथा घरपालुवा जनावर सुरक्षित स्थानमा सार्न आग्रह गरेको थियो । साथै बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षित स्थानान्तरणलाई प्राथमिकतामा राख्न निर्देशन दिइएको छ ।
प्रशासनले आगामी १० देखि १५ दिनभित्र वास्तविक भूमिहीन सुकुमबासीहरूको पहिचान तथा लगत संकलन गरी उनीहरूको उचित बसोबासको व्यवस्था मिलाउने तयारी गरेको जनाएको छ ।






