ललितपुर,
वैशाख ९ ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिबाट सम्मान गरिएको छ । ललितपुर महानगरपालिका-१६ वडा कलाकार समितिले अक्षयतृतीयको अवसर पारेर पाटन दरबार क्षेत्रमा आयोजित नागरिक अभिनन्दन तथा सांस्कृतिक-सांगीतिक कार्यक्रममा उहाँलाई उक्त उपाधि प्रदान गरेको हो ।
श्रेष्ठको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा विभिन्न २१ भन्दा बढी संघसंस्थाले समेत सम्मानपत्र अर्पण गर्दै नागरिक अभिनन्दन गरेका थिए । कार्यक्रममा समाजसेवी सरिता महर्जनसहित शाक्य बज्राचार्य समाज, नेपालभाषा मंकाः खलः यल, मुनासः, वाद्य शिरोमणी घराना, ललितपुर सुनचाँदी व्यवसायी संघलगायत संस्थाहरूको सहभागिता थियो ।
नेवार परम्परा अनुसार धाःबाजाको गुञ्जनसहित श्रेष्ठलाई पाटन दरबार क्षेत्रमा स्वागत गरिएको थियो । चर्या कलाकार, विभिन्न समुदायका भेषभूषामा विद्यार्थी, वडा तथा कलाकार समितिका प्रतिनिधि र सर्वसाधारणको सहभागितामा जात्रामय वातावरण सिर्जना गरिएको थियो । कार्तिक डबलीअगाडि आयोजित कार्यक्रममा परम्परागत सांस्कृतिक प्रस्तुतिसमेत गरिएको थियो ।
कार्यक्रममा प्रसन्ना बज्राचार्य र प्रिजा शाक्यले आर्यतारा अमोघसिद्धि चर्यानृत्य प्रस्तुत गर्नुभएको थियो भने डिलाइट स्कुलका विद्यार्थीहरूले ‘सयथरी बाजा एउटै ताल’ गीतमा नृत्य प्रस्तुत गरेका थिए । वाद्य शिरोमणी संगीत घरानाका बालकलाकारले सोही गीतमा भ्वाइलिन वादन गरेका थिए ।
नेवार परम्परा अनुसार सगुन प्रदान गर्दै कार्यक्रमलाई निरन्तरता दिइएको थियो । कार्यक्रममा श्रेष्ठसँग अन्तर्वार्ता शैलीमा संवाद सञ्चालन गरिएको थियो, जसले दर्शकलाई थप आकर्षित बनाएको थियो । सो क्रममा श्रेष्ठले आफ्ना चर्चित गीतहरू ‘अर्बौं मान्छेहरूमा’, ‘फुलबुट्टे सारी’, ‘खोलावारी खोलापारी’लगायत गीत प्रस्तुत गर्नुभएको थियो । साथै सरिता महर्जनसँग नेपालभाषाको गीत र अन्य कलाकारसँग समेत सांगीतिक प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष निर्मलरत्न शाक्य, श्रेष्ठका परिवारका सदस्यहरू, तथा अन्य कलाकारहरूको उपस्थिति थियो । कार्यक्रमअघि बिहान १० बजेदेखि २ बजेसम्म रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । स्थानीयस्तरमै पहिलोपटक स्थापना गरिएको कलाकार समितिले नवप्रतिभाको खोजी, युवा कलाकारलाई मञ्च प्रदान गर्ने तथा वरिष्ठ कलाकारलाई सम्मान गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।






