काठमाडौं,
वैशाख ७ ।
गत शुक्रबार सार्वजनिक गरिएको चलचित्र ‘लालीबजार’को ट्रेलर दर्शकमाझ लोकप्रिय बनेको छ । सार्वजनिक भएको छोटो समयमै युट्युब ट्रेन्डिङको मुभी चार्टतर्फ तेस्रो स्थानमा उक्लिएको ट्रेलरले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
षट्कोण आर्ट्सको निर्माणमा बनेको चलचित्रको ट्रेलरमा आमा-छोरीको भावनात्मक सम्बन्ध र संघर्षको कथा प्रस्तुत गरिएको छ ।
विशेषगरी बादी समुदायमा विद्यमान ‘नाथिया’ जस्तो कुप्रथाविरुद्धको विषयवस्तुले दर्शकको ध्यान तानेको छ । अभिनेत्री स्वस्तिमा खड्काले बादी समुदायकी आमाको भूमिकामा देखाएको अभिनयको व्यापक प्रशंसा भइरहेको छ । साथै, रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा तथा डेब्यु कलाकारद्वय प्रशंसा सुवेदी र विशाल देवकोटाको अभिनयलाई सकारात्मक प्रतिक्रिया मिलेको छ ।
यम थापाको निर्देशनमा तयार भएको यो चलचित्र यही वैशाख १८ गते प्रदर्शनमा आउँदैछ । बर्दियाको राजापुरमा छायांकन गरिएको चलचित्रमा आमा–छोरीको सुरक्षाका लागि आमाले गर्ने संघर्षलाई मुख्य कथावस्तु बनाइएको छ ।
चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराललगायतका कलाकारको अभिनय छ ।
निर्माता म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ रहनुभएको छ भने कार्यकारी निर्माता प्रदीप भट्टराई हुनुहुन्छ । यसअघि ‘जात्रा’ शृंखलाजस्ता सफल चलचित्र निर्माण गरिसकेको षट्कोण आर्ट्सको यो नयाँ प्रस्तुतिप्रति दर्शकको अपेक्षा उच्च देखिएको छ ।






