तिहारमा ‘पाँच पाण्डव’

काठमाडौं,
वैशाख ५ ।

छायांकनरत चलचित्र ‘पाँच पाण्डव’ तिहारमा प्रदर्शन हुने भएको छ । वसन्त निरौलाको निर्देशनमा बनिरहेको यो चलचित्रले तिहारलाई प्रदर्शन मिति तय गरेको हो । शुक्रबार निर्माताले आरआर फिल्म्ससँग वितरणसम्बन्धी सम्झौता गर्दै तिहारमा चलचित्र रिलिज गर्ने निर्णय गरेका हुन् । यद्यपि, फिल्मको मिति भने सार्वजनिक गरिएको छैन । तर, वितरक र निर्माताबीच लक्ष्मीपूजाको दिन चलचित्रलाई प्रदर्शन गर्ने सहमति भएको जनाइएको छ ।

चलचित्रको वितरण अधिकार लिएपछि आरआर फिल्म्सका प्रमुख रोहित कट्टेलले भन्नुभयो, ‘हामीले फिल्मको कन्टेन्ट र कलाकारको लाइनअप हेरेर वितरणको जिम्मा लिएका हौं । तिहारजस्तो ठूलो चाडमा दर्शकले खोज्ने भनेकै पूर्ण मनोरञ्जन हो, जुन यो फिल्मले दिनेछ । ‘पाँच पाण्डव’ व्यावसायिक र कलात्मक दुवै हिसाबले सफल हुनेमा हामी विश्वस्त छौं ।’

नवीन श्रेष्ठ प्रस्तुतकर्ता तथा काली रानी श्रेष्ठ निर्माता रहेको यस चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, दीपाश्री निरौला, रजनी गुरुङ, सुशील सिटौला, प्रशान्त ताम्राकार, इभा गिरी लगायतका कलाकारको अभिनय देख्न सकिनेछ । सुशील पौडेलको कथा, पटकथा तथा संवाद लेखन रहेको चलचित्रलाई श्याम तामाङले छायांकन गरिरहनुभएको छ ।

निर्देशक निरौलाले चलचित्रको शीर्षक ‘पाँच पाण्डव’ भए पनि यो कुनै धार्मिक वा पौराणिक कथामा आधारित नभएको बताउनुभएको छ । उहाँका अनुसार यो पूर्ण रूपमा एक सामाजिक कथा हो । महाभारतका पाँच पाण्डव (युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव)को चरित्र र विम्बलाई प्रयोग गर्दै चलचित्रमा समकालीन समाजको यथार्थ कथा भनिने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार