काठमाडौं,
वैशाख ४ ।
गायक तथा सङ्गीतकार ईश्वर अमात्यले मातातिर्थ औंसीको पूर्वसन्ध्यामा ‘यःमा (मेरी आमा)’ बोलको गीतको भिडियो सार्वजनिक गर्नुभएको छ । बिहीबार काठमाडौंस्थित सिटी सेन्टरको फुड कोर्टमा आयोजित कार्यक्रममा वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेको प्रमुख आतिथ्यतामा भिडियो सार्वजनिक गरिएको हो ।
आमाको सङ्घर्षलाई केन्द्रमा राखेर तयार गरिएको उक्त गीतको भिडियोमा सुजना बज्राचार्यले प्रमुख भूमिका निर्वाह गर्नुभएको छ भने बाल कलाकार समाइरा खड्गीको अभिनय छ ।
ईश्वर अमात्यको सङ्गीत रहेको गीतमा कृष्णबहादुर नापित त्रिशुलीको शब्द सिर्जना छ । गीतमा जोशना अमात्यको स्वर छ भने सङ्गीत संयोजन सुरेन्द्र श्रेष्ठले गर्नुभएको हो ।
कार्यक्रममा गीतको भिडियोमाथि समीक्षा गर्दै वरिष्ठ पत्रकार असंबरेले म्युजिक भिडियो केवल दृश्य प्रस्तुति मात्र नभई गीतको भावना दर्शकको मनसम्म पुर्याउन सक्षम हुनुपर्ने धारणा राख्नुभयो । उहाँले प्रस्तुत भिडियोले गीतको भावना र महिलाको सङ्घर्षलाई सन्तुलित रूपमा प्रस्तुत गर्न सफल भएको उल्लेख गर्नुभयो ।
दर्जनभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसक्नुभएका निर्देशक दर्शनवीर शाक्यको परिकल्पना तथा निर्देशनमा तयार भएको यस भिडियोमा छायाङ्कन र सम्पादन मनोजरत्न शाहीले गर्नुभएको हो । प्रोडक्सन म्यानेजरका रूपमा उजय शाही संलग्न रहनुभएको छ ।
सार्वजनिक गीतको भिडियोले आमाप्रतिको सम्मान र भावनालाई उजागर गर्दै दर्शकमाझ सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।






