‘महाराजधिराज’मा पुष्प खड्का

काठमाडौं,
वैशाख २ ।

चलचित्र ‘महाराजधिराज’मा मुख्य भूमिकाका लागि अभिनेता पुष्प खड्का अनुबन्धित हुनुभएको छ । निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै पुष्पलाई मुख्य भूमिकामा अनुबन्ध गरेको जानकारी दिएको हो । सुरुमा यो चलचित्रमा पल शाह हुनुहुन्थ्यो । पल अलग भएपछि उहाँको ठाउँमा पुष्प भित्रिनुभएको हो ।

सार्वजनिक पोस्टरमा पुष्पलाई दुईवटा विपरीत लुक्समा देखाइएको छ । निर्माण पक्षले पोस्टरका साथमा एउटा अर्थपूर्ण स्लोगन पनि सार्वजनिक गरेको छ, ‘सत्कर्म सद्भावका कदमले हरपल साथ निभाओस्, वैमनस्यता बेइमानी संकट कुनै पल नजिक नआओस् ।’
पुष्पले यो चलचित्रमा अनुबन्ध हुँदा आफ्नै औंला काटेर रगतको औंठा छाप लगाउनुभएको थियो । सामान्यतया कलाकारहरूले कागजमा हस्ताक्षर गरेर चलचित्र साइन गर्ने चलन छ ।

पुष्पले यो भूमिकालाई आफ्नो करिअरको सबैभन्दा ठूलो अवसर र चुनौतीका रूपमा लिनुभएको छ । उहाँले यो चलचित्रको निर्माण अवधिभर अन्य कुनै पनि चलचित्र, म्युजिक भिडियो, टिकटक, इन्स्टाग्राम र युट्युब भिडियोजस्ता कुनै पनि दृश्य सामग्रीमा संलग्न नहुने घोषणा गर्नुभएको छ ।

‘महाराजधिराज’को पोस्टरले पिरियड ड्रामाको झल्को दिएको छ । यही वैशाखको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्रमा पुष्पका साथै नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, वर्षा राउत, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेल लगायतका कालाकार हुनुहुन्छ ।

‘महाराजधिराज’मा अन्य ८० जना कलाकार रहने जनाइएको छ । चलचित्रको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ । काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा चलचित्र छायांकन गरिनेछ । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ ।

‘महाराजधिराज’का निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुनुहुन्छ । ‘महाराजधिराज’ आगामी फूलपातीमा प्रदर्शनको तयारी रहेको निर्माण टिमले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार