‘लालीबजार’को ‘मीठो संसार’मा आमाछोरीको प्रेम (भिडियोसहित)

काठमाडौं,
चैत २४ ।

आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउन तयारीमा रहेको चलचित्र ‘लालीबजार’ प्रदर्शनअघि नै सांगीतिक रूपमा चर्चामा आएको छ । चलचित्रको पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक भएको एक महिनामै युट्युबमा एक करोड भ्यूज प्राप्त गर्दै लोकप्रियताको शिखरमा पुगेको छ । उक्त गीतमा आधारित टिकटक, रिल्स र सर्टस् पनि लाखौंको संख्यामा निर्माण भइसकेका छन्, जसले चलचित्रप्रतिको दर्शक उत्साह थप बढाएको छ ।

पहिलो गीतको सफलतासँगै निर्माण टिमले दोस्रो गीत ‘मीठो संसार’ सार्वजनिक गरेको छ । ‘मायालाई के दिऊँ म बैना’ले एक करोड भ्यूज पार गरेको खुशीयालीमा केक काट्दै गीत सार्वजनिक गरिएको हो ।

नयाँ गीतमा समीक्षा अधिकारी, दिलिजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको स्वर छ भने शब्द तथा संगीत जयन जे वाइवाको छ । गीतको लिरिकल भिडियोमा चलचित्रका विभिन्न चल-अचल दृश्य समावेश गरिएको छ ।

चलचित्रका लेखक तथा निर्देशक यम थापाका अनुसार ‘मीठो संसार’ चलचित्रको कथासँग प्रत्यक्ष रूपमा जोडिएको महत्त्वपूर्ण गीत हो । उहाँले गीतमार्फत आमा–छोरीबीचको प्रेम, माया र छोरीलाई हुर्काउने क्रममा आमाले गर्ने संघर्षलाई मार्मिक ढंगले प्रस्तुत गरिएको बताउनुभयो । उहाँका अनुसार यो गीतले चलचित्रको कथावाचनलाई अझ भावनात्मक र प्रभावशाली बनाउनेछ ।

षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘लालीबजार’मा स्वस्तिमा खड्का, समाइरा थापा, रवीन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ, विशाल देवकोटा, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याललगायत कलाकारहरूको अभिनय छ । चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराई रहनुभएको छ भने म्याक्स दिपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुनुहुन्छ ।

प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्रका गीतहरूले पाइरहेको सकारात्मक प्रतिक्रिया र दर्शकको उत्साहले ‘लालीबजार’ बक्स अफिसमा पनि सफल हुने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार