काठमाडौं,
चैत २३ ।
गीत तथा गजलमार्फत साहित्यिक क्षेत्रमा सक्रिय देवी घिमिरेको नयाँ कृति ‘मनझोली’ उपन्यास लोकार्पण गरिएको छ । उपन्यास समाज, नेपालद्वारा आयोजित कार्यक्रममा प्राडा।हेमनाथ पौडेल, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, विश्वकीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, साहित्यकार टी।एन।भट्ट ‘विश्वामित्र’, निमग्ना घिमिरेलगायतले संयुक्त रूपमा कृतिको विमोचन गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्राडा।पौडेलले समाजमा विविध विषयवस्तु उपलब्ध हुने भएकाले साहित्य सिर्जनामा अपार सम्भावना रहेको बताउनुभयो । उहाँले ‘मनझोली’ उपन्यासले बुबाआमाको जीवनसँग सम्बन्धित कथालाई आख्यानीकरण गरेको र यसको कथावस्तु तथा शीर्षक मौलिक रहेको उल्लेख गर्नुभयो ।
साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले प्राडा।गोविन्दराज भट्टराईको भनाइ उद्धृत गर्दै उपन्यास लेखन साहित्यकारका लागि महत्वपूर्ण विधा भएको बताउनुभयो । उहाँका अनुसार उपन्यास पठनीय र यथार्थको नजिक रहेको छ । समीक्षक सन्तोष श्रेष्ठले उपन्यासमा बालविवाह, नारी पीडा तथा बसाइँसराइ जस्ता विषयको प्रभावशाली चित्रण गरिएको बताउँदै यसले जीवन दर्शन र मानवताको पक्षलाई पनि उजागर गरेको धारणा राख्नुभयो ।
कृतिमाथि समीक्षा गर्दै टी।एन।भट्ट ‘विश्वामित्र’ले उपन्यास छोरीले आफ्ना आमाबुबाको संघर्ष र अनुभवलाई आधार बनाएर लेखिएको बताउनुभयो । उहाँका अनुसार दाताराम र नरमायाको संघर्षमार्फत सामाजिक यथार्थलाई प्रस्तुत गरिएको छ ।
अर्की समीक्षक निमग्ना घिमिरेले करिब असी वर्षअघिको समाजको यथार्थपरक चित्रण उपन्यासमा भेटिने बताउँदै बहुपात्र, विभिन्न परिवेश र स्थानको सफल प्रस्तुति भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल सरकारका पूर्वमुख्यसचिव लीलादेवी गर्तौला, उपन्यासकारका पिता दाताराम घिमिरे, बन्धुराज शर्मा घोरासाइने, प्रकाश तिवारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उपन्यासकार देवी घिमिरेले हालसम्म आधा दर्जन गीत रेकर्ड गरिसक्नुभएको छ । उहाँले ‘मनझोली’ लेख्न पाँच वर्ष लागेको जानकारी दिँदै आफ्नो साहित्यिक यात्राको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । ‘मेरो पाँच वर्षको प्रयास आज सार्थक भएको छ’, भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । उपन्यास समाज, नेपालका अध्यक्ष शंकर भारतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन देवी पराजुलीले गर्नुभएको थियो ।






