काठमाडौं,
चैत २० ।
चलचित्र ‘रोल नं १’ को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी सेभेन सिज सिनेमाले ‘रोल नं १’ को पोस्टर सार्वजनिक गरेको हो । निर्माणपक्षले बिहीबार चलचित्रका दुई पोस्टर सार्वजनिक गरेको हो । यो चलचित्र आउँदो वर्षको जेठ १५ गते (गणतन्त्र दिवस)देखि प्रदर्शनमा आउने तयारीमा छ ।
सार्वजनिक दुई पोस्टरमा पात्रहरूको परिचयसँगै चलचित्रको मूल मर्म, नेपाली समाजको यथार्थप्रतिको दृष्टिकोणलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ । पोस्टरमा प्रयोग गरिएको माटोको रङले चलचित्रमा भुइँमान्छेको कथा भएको संकेत मिल्छ ।
एउटा पोस्टरमा बालकलाकार निर्भीक रेग्मीसँगै चलचित्रका मुख्य पात्र अभिनेता मुकुन भुसाल र अभिनेत्री रेणु योगी ग्रामीण परिवेशको पहिरनमा देखिनुभएको छ । अर्को पोस्टरमा बालक आफ्ना बुवाको पिठ्युँमा टाउको राखेर सुतेको भावनात्मक दृश्य छ । बालकको अनुहारमा खुसी र पछाडि पहाडी भूभाग देखिएको छ ।
चलचित्रको ट्यागलाइन ‘हरेक विद्यार्थीको कथा’ राखिएको छ । यसले यो सिनेमा विद्यार्थी जीवन, विद्यालयको संघर्ष र शैक्षिक सपनामा केन्द्रित रहेको बुझ्न सकिन्छ । बक्सअफिसमा ऐतिहासिक सफलता हासिल गरेको ‘पूर्ण बहादुरको सारंगी’को टिमले बनाएको चलचित्र हो यो । चलचित्रलाई जोन योञ्जनले निर्देशन गर्नुभएको छ ।
चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारीको मुख्य भूमिका छ । बालकलाकारमा निर्भीक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ हुनुहुन्छ । विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सहनिर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं रहनुभएको छ । यो चलचित्र महेश दवाडीले लेख्नुभएको हो ।
हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगमा चलचित्र छायांकन गरिएको छ । यसमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको भीजीएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी हुनुहुन्छ । चलचित्रका सम्पादक मदन घिमिरे हुनुहुन्छ ।
यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइने निर्माता पौडेलले जानकारी दिनुभयो । ऋच इन्टरटेन्मेन्ट र जेएम सिनेमाले चलचित्रल वितरणको जिम्मा लिएका छन् ।






