झापा,
चैत १६ ।
काली रानी फिल्मस्को व्यानरमा निर्माण भइरहेको चलचित्र ‘पाँच पाण्डव’को यतिबेला पूर्वी नेपालको झापामा धमाधम छायांकन भइरहेको छ । छायांकन सुरु भएको दुई साता बितिसक्दा निर्माण पक्षले चलचित्रको कलाकार टोलीमा थप दुई पात्रलाई भित्र्याएको छ । चलचित्रमा भर्सटायल अभिनेता प्रशान्त ताम्राकार र चर्चित कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरीको प्रवेश भएको हो ।
छायांकनको १४औं दिनमा उहाँहरू सेटमा जोडिएसँगै चलचित्रको क्यानभास अझ फराकिलो बनेको निर्देशक वसन्त निरौलाले बताउनुभयो । गत चैत २ गते नेपाल–भारत सीमावर्ती शहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै छायांकन थालिएको यस चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरूको समिश्रण छ ।
चलचित्रका मुख्य ‘पाँच पाण्डव’को भूमिकामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) हुनुहुन्छ । यी पाँच पात्र केन्द्रमा राखेर बुनिएको कथामा महिला मुख्य पात्रका रूपमा दीपाश्री निरौला र जनी गुरुङ देखिनुहुनेछ ।
चलचित्रको शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै पौराणिक वा धार्मिक कथा नभई पूर्णरूपमा ‘सोसल ड्रामा’ (सामाजिक कथा) भएको लेखक सुशील पौडेलले स्पष्ट पार्नुभएको छ । चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्ब प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।
प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार चलचित्रलाई भव्य बनाउन बजेटमा कुनै पनि कम्प्रमाइज गरिएको छैन । ‘हामीसँग हरिवंश दाइ जस्ता दिग्गज कलाकारदेखि नयाँ पुस्ताका प्रिय कलाकारहरू हुनुहुन्छ । यो यस वर्षकै प्रतिक्षित चलचित्र बन्नेमा हामी ढुक्क छौं,’ श्रेष्ठले भन्नुभयो । नवीनले यसअघि गतवर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गर्नुभएको थियो ।
चलचित्रको निर्माण काली रानी श्रेष्ठले गर्नुभएको हो । ४० दिनको छायांकन तालिका तय गरिएको यस चलचित्रको अधिकांश दृश्यहरू झापाका रमणीय र महत्वपूर्ण स्थानहरूमा खिचिने निर्माणपक्षले जनाएको छ । झापाको सेड्युल सकिएपछि टोलीले अन्य स्थानका लागि यात्रा तय गर्ने निर्देशक निरौलाले बताउनुभयो । कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको यो चलचित्रलाई श्याम तामाङले छयांकन गर्दै हुनुहुन्छ ।






