काठमाडौं,
चैत ९ ।
निखिल उप्रेती र वर्षा सिवाकोटीको अभिनय रहेको चलचित्र ‘कस्तुरी’को गाउँको केही दृश्य र गीत थाँती राख्दै छायांकन सकिएको छ । फिल्मको छायांकन थालेको ३५ दिनमा सकेको हो ।
चलचित्रका निर्देशक ऋत बोहोराले केही गाउँको दृश्य र गीत बाहेक फिल्मको सुटिङ सकिएको जानकारी गराउनुभयो । काठमाडौं जिल्ला आसपासमा खिचिएको यो चलचित्र रहस्य, सस्पेन्स र अपराधका गहिरा तहहरूलाई फिल्मले उजागर गर्नेछ । चलचित्रमा निखिल र वर्षाका साथमा शेखर चापागाईं, निर्मल शर्मा, नीशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बंञ्जन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतम र विशेष भुमिकामा गौरव पहारी एवं हेना नगरकोटीको अभिनय छ ।
टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्देशक बोहोरा आफैँले नै लेख्नुभएको हो । यस चलचित्रका निर्माता धिरज कुमार अग्रवाल हुनुहुन्छ । उहाँ यही चलचित्रबाट निर्माताका रुपमा आउनुभएको हो ।
यस चलचित्रको को-प्रोड्युसरमा अञ्जली चौधरी रहनुभएको छ । आलोक शुक्लाले खिचेको यो चलचित्रमा प्रमुख सह–निर्देशक ललित बिष्टले गर्नुभएको छ । चलचित्रको गीतमा संगीत प्रशान्त शिवाकोटीको छ भने निर्माण व्यवस्थापन दिलीप पन्तले गर्नुभएको छ ।






