काठमाडौं,
काठमाडौं, ९ चैत ।
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटनमा भारतका चर्चित निर्देशक, निर्माता र कलाकार रमेश सिप्पीको विशेष उपस्थित हुने भएको छ । उहाँ उद्घाटन कार्यक्रममा विशेष उपस्थिति जनाउन नेपाल आउने पक्का भएको निफका अध्यक्ष केपी पाठकले जानकारी दनिुभयो ।
निफमा सहभागी हुने निर्देशक सिप्पीले भारतीय फिल्मको यात्रा, आफ्नो फिल्मी यात्रा र अनुभवबारे नेपाली फिल्म मेकर र दर्शकमाझ सेयर गर्ने कार्यक्रम राखिएको छ ।
निफको नवौं संस्करणको निफ चैत १९ बाट काठमाडौं हुँदैछ । जहाँ ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक-फरक विषयमा १० वटा अन्तर्क्रियात्मक कार्यक्रमहरू गरिनेछन् ।
रमेश सिप्पीले दर्जनभन्दा बढी चलचित्र निर्देशन गर्नुभएको छ । बलिउडमा काशेढुंगाका रुपमा साबित भएको चलचित्र ‘शोले’ उहाँकै निर्देशनमा बनेको हो । पछिल्लो समय उहाँले निर्देशन गरेको चलचित्र ‘सिम्ला मिर्ची’ सन् २०२० मा प्रदर्शनमा आएको थियो । उहाँ दर्जनौं चलचित्रको निर्माता र केही फिल्ममा कलाकार समेत हुनुहुन्छ ।
सिप्पीले आफ्नो निर्देशनमा बनेका चलचित्रहरूमा शाहरुख खान, अमिताभ बच्चन, सञ्जय दत्त, ज्याक्की श्रफ, मिथुन चक्रवर्ती, ऋषि कपुर, दिलिप कपुर, शशी कपुर, धर्मेन्द्र र राजेश खन्नालगयातका बलिउड स्टारलाई अभिनय गराउनुभएको छ ।






