काठमाडौं,
चैत ८ ।
नेपाली भाषा-साहित्यको सिर्जनामा साढे सात दशक अघिदेखि साधनारत कवि तथा गीतकार माधव खनाल ‘भावुक’ लाई ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । भावुकको पहिलो कृति २००९ सालमा प्रकाशित भएको थियो । भावुककृत कविता सङ्ग्रमा मविवि शाह, बालकृष्ण सम तथा मातृकाप्रसाद कोइरालाले भूमिका लेख्नुभएको थियो । उहाँका तीन वटा कृति र एक सय जति फुटकर लेख, रचना प्रकाशित छन् ।
आफ्नै स्रोत तथा साधनबाट विगत चार दशक अघिदेखि कम्प्युटरमा नेपाली लिपिको निर्माणका साथै पछिल्ला समयमा कृत्रिम बौद्धिकतामा आधारित मौलिक यन्त्र मानव (रोबोर्ट) को आविष्कारसमेत गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको गौरव बढाएबापत कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।
यी दुवै पुरस्कारका राशि जनही एक-एक लाख रुपैयाँ रहेका छन् । साथै आख्यान, कविता र हास्य–व्यङ्ग्य लेखनमा सदैव समर्पित रही नेपाली भाषा-साहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत चितवनका धनराज गिरीलाई पचास हजार रुपियाँ राशिसहित ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।
त्यसैगरी किशोरावस्थादेखि नै समाजसेवामा उत्सर्गिक भई खास गरेर काठमाडौं महानगरपालिकाको वडा नम्बर ३१ को विकासमा सदैव समर्पित सरोज ढकाल (वडा नम्बर ३१ का वडा अध्यक्ष) लाई ‘वानीरा सेवा सम्मान’ समर्पण गर्ने निर्णय भएको छ । नेपाली साहित्यका विश्व नारी रत्न डा. वानीरा गिरीका सम्मानमा स्थापित यी पुरस्कारहरु डा. गिरीको ८३औँ जयन्तीका अवसरमा आगामी अक्षय तृतियाका दिन काठमाडौंमा समर्पण हुनेछन् ।
वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई. शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा शनिवार बसेको वानीरा फाउण्डसनको बैठकले उक्त निर्णय गरेको वानीरा फाउण्डेसनका सदस्य-सचिव नरेन्द्रराज प्रसाईंद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।






