महेश्वर पन्तको कथासंग्रह ‘धर्तीमुनिका तारा’ लोकार्पण

काठमाडौं,
चैत २ ।

स्रष्टा महेश्वर पन्तद्वारा लिखित कथासंग्रह ‘धर्तीमुनिका तारा’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच उक्त कृतिको लोकार्पण गरिएको हो । साहित्यकार रमेश दाहालद्वारा सम्पादित उक्त कृति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टर र कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठानको संयुक्त आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष प्राडा.पार्थिवेश्वर तिमिल्सिनाले गर्नुभएको थियो भने अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले स्वागत मन्तव्य राख्नुभएको थियो । समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

सभापति पार्थिवेश्वर तिमिल्सिना, विशेष अतिथि साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली तथा विशेष वक्ताहरू प्राडा.गोविन्दमानसिंह कार्की, प्राडा.रामप्रसाद दाहाल, सन्ध्या पहाडी, स्रष्टा महेश्वर पन्त, राजेन्द्र केसी, सम्पादक रमेश दाहाल र राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेलगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।

सोही अवसरमा अनेसास नेपाल च्याप्टरले स्रष्टा पन्तलाई खादा, माला तथा दोसल्लासहित ‘स्रष्टा प्रज्ञा सम्मान-२०८२’ द्वारा सम्मानित गरेको थियो । कार्यक्रममा विशेष वक्ता सन्ध्या पहाडीले कथासंग्रहमा समेटिएका नारीसम्बन्धी संवेदनशील विषयवस्तुबारे विवेचनात्मक चर्चा गर्नुभएको थियो । प्राडा.गोविन्दमानसिंह कार्कीले कृतिको संरचना, विषयवस्तु तथा साहित्यिक महत्वमाथि टिप्पणी प्रस्तुत गर्नुभएको थियो भने प्राडा.रामप्रसाद दाहालले कथाभित्र निहित जीवनानुभूति र त्यसले पाठकमा पार्ने प्रभाव बारे विश्लेषण गर्नुभएको थियो ।

स्रष्टा महेश्वर पन्तले कथा लेखनका प्रेरणा-स्रोत, विषयवस्तुको चयन तथा पात्रहरूसँगको आत्मीय सम्बन्धबारे अनुभव साझा गर्नुभएको थियो । पन्तका ‘मुन्द्री’, ‘नबोल्नेहरू’, ‘फुर्लुङ’, ‘बौलाको डायरी’ जस्ता कथा तथा उपन्याससहित आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् ।

कार्यक्रममा साहित्यकार मदनराज थापा, अनेसास गण्डकी प्रदेशका अध्यक्ष देवेन्द्र केसी ‘देवु’, अनेसास हवाई च्याप्टरकी अध्यक्ष अमृता स्मृति लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सम्पादक रमेश दाहालले आफ्नो सम्पादकीय मन्तव्य प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथि भूपाल राईले स्रष्टा महेश्वर पन्तको साहित्यिक योगदानको प्रशंसा गर्दै ‘धर्तीमुनिका तारा’ कृतिको महत्वबारे विचार व्यक्त गर्नुभएको थियो ।

साहित्यकार ऋषभदेव घिमिरेद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रमको अन्त्यमा सभापति पार्थिवेश्वरले कृतिभित्र समेटिएका कथाहरूको चर्चा गर्नुभएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका साहित्यकार तथा साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति थियो । कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा प्रकाशित उक्त कृतिको बिक्रीबाट संकलित रकम नेपाली भाषा-साहित्यको प्रवर्द्धन तथा सामाजिक विकासका कार्यमा प्रयोग गरिने स्रष्टा महेश्वर पन्तले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार