काठमाडौं,
चैत १ ।
चलचित्र ‘हामी तीन भाइ’ को नयाँ गीत ‘झम्के फूली नाकको फूली, कानमा झुम्का लाउ है ठूली‘’ को भक्तपुरस्थित गुण्डुमा छायांकन गरिएको छ । प्रसिद्धी सिने आर्ट्स प्रालिको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रको उक्त गीतमा साप शक्ति र अस्मिता अधिकारीको स्वर छ ।
गीतका शब्द सुवल मणि सापकोटाले लेख्नुभएको हो भने संगीत पनि साप शक्तिकै छ । गीतको रेकर्डिङ अनामनगरस्थित ए प्लस स्टुडियोमा गरिएको हो । यस गीतको संगीत संयोजन (एरेन्ज) महाराज थापाले गर्नुभएको छ ।
मधुसुधन भट्टराईको निर्देशनमा तयार भइरहेको चलचित्र कमेडी तथा सामाजिक कथामा आधारित छ । चलचित्रमा विनोद न्यौपाने, कुशल बिष्ट र फलित राई मुख्य भूमिकामा हुनुहुन्छ । उनीहरूले गाउँका मिल्ने तीन साथीको चरित्र निभाएका छन् ।
चलचित्रमा लक्ष्मी बर्देवा, राजाराम पौडेल, रवीन्द्र झा लगायतका कलाकारको पनि अभिनय छ । चलचित्र प्रसिद्धी सिने आर्ट्स प्रालिको ब्यानरमा निर्माण भएको हो भने निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहनुभएको छ । चलचित्र यही चैत १३ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदैछ ।






