काठमाडौं,
फागुन २७ ।
चलचित्र ‘मुक्तिपुर’को शुभमुहूर्तसँगै छायांकन आरम्भ गरिएको छ । नाजिर हुसैनको मुख्य भूमिका रहेको यो चलचित्रको काठमाडौंको मंगलबार वसुन्धारामा अवस्थित इन्द्रायणी मन्दिरमा क्ल्याप तथा स्कृप्ट पूजा गर्दै छायांकन आरम्भ गरिएको हो ।
सुनिल पाण्डेको निर्देशन रहेको चलचित्र साहिबा फिल्मस् प्रोडक्सनको ब्यानर र एभरेष्ट फिल्म एकेडेमीको सहकार्यमा निर्माण हुनेछ । विभिन्न छोटा चलचित्र र वृत्तचित्र निर्देशनमा अनुभवी युवा निर्देशक पाण्डेको लागि ‘मुक्तिपुर’ ठूलोपर्दाको डेब्यू निर्देशन हुनेछ । चलचित्रको कथा पनि निर्देशक पाण्डेकै हो ।
पछिल्लो १० वर्षदेखि अभिनय, निर्देशन, सम्पादन, छायांकन र ध्वनि शिक्षा प्रदान गर्दै आएको फिल्म क्षेत्रको अग्रणी एकेडेमी एभरेष्टले पहिलोपटक चलचित्र निर्माणमा पाइला अघि बढाएको हो ।
विजय राजवंशी र रोशन पासवान निर्माता रहेको यस चलचित्रमा विशाल श्रेष्ठ कार्यकारी निर्माता हुनुहुन्छ भने केशव गौतम सहनिर्माता रहनुभएको छ । क्राइम रिभेञ्ज जनरामा तयार हुने चलचित्रले बदलाको कथा बोल्नेछ । ‘एक परिवारको प्रतिनिधित्व गरेको पात्रको जीवनमा घट्ने महत्पूर्ण घटना र त्यसले उत्पन्न गर्ने परिस्थिति पश्चात उसले गर्ने संघर्ष र सफलताको कथा फिल्मले बोल्नेछ’, निर्देशक पाण्डेले भन्नुभयो ।
चलचित्रमा नाजिरसहित गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेती मुख्य भूमिकामा देखिनुहुनेछ । आकृति बुढाथोकीले यो चलचित्रबाट अभिनेत्रीको भूमिकामा रजतपटमा डेब्यू गर्दै हुनुहुन्छ ।
चलचित्रमा घनश्याम जोशी, सरस्वती अधिकारी, अनिल कुर्मी, स्वायम केसी, हरोन अली, उदय अली, सारा शर्मा, अनामिका लामिछाने, विकाश खनाल, रूपेश लामा, आयन परियार, श्रवन रम्तेल, भोला शाह, सफल, गोपाल महतरा, विमल यादव, ओजस्वी विक्रम विष्ट, सुदीप तिमिल्सिना र प्रवीणकुमार चौधरीलगायतको पनि अभिनय रहने निर्माणपक्षले जनाएको छ ।






