काठमाडौं,
फागुन २१ ।
नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा समर्पित दुईजना प्राध्यापकलाई मरणोपरान्त ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ । नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
नइ एकेडेमीले ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को अवसरमा प्राडा. ताराकान्त पाण्डे र प्रा. खेमराज जोशीलाई यो सम्मान प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारका राशि प्रत्येकलाई पचास पचास हजार रुपैयाँ निर्धारण गरिएको छ ।
सम्मेलन २०८२ साल चैत २७, २८ र २९ गते हुने बताइएको छ । उक्त अवसरमा प्राध्यापकका पत्नी वा अन्य उत्तराधिकारीलाई पुरस्कार समर्पण गरिने नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिनुभयो ।






