‘सौन्दर्य उद्यमी संघ नेपाल’ गठन

काठमाडौं,
फागुन १३ ।

ब्युटिपार्लर सञ्चालन गर्दै आएका तथा ब्युटिसियन पेशामा आबद्ध व्यक्तिहरूले ‘सौन्दर्य उद्यमी संघ नेपाल’ गठन गरेका छन् । शनिबार काठमाडौंमा आयोजित विशेष समारोहबीच संघका नवगठित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा वरिष्ठ ब्युटिसियन तथा रोज ब्युटी एकेडेमीकी अध्यक्ष सुन्दरी कारँजित (सोनी) चयन हुनुभएको छ । उपाध्यक्षमा मनिषा जिसी र करुणा श्रेष्ठ, सचिवमा श्वेता मगर श्रेष्ठ र मनिषा श्रेष्ठ तथा कोषाध्यक्षमा सिर्जना श्रेष्ठ र निलकमल प्रधान चयन हुनुभएको छ । केन्द्रीय कार्यसमिति सदस्यहरूमा ललिता जोशी श्रेष्ठ, निशा थापा, स्मृति सुब्बा (इसू), प्रविनकला राई, निशा रजक, रविना तामाङ र शान्ता कार्की रहनुभएको छ ।

शपथ ग्रहणसँगै नवनिर्वाचित कार्यसमितिले सीप विकास तालिम, व्यावसायिक दक्षता अभिवृद्धि, महिला सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

समारोहमा प्रमुख अतिथि वरिष्ठ चरित्र अभिनेत्री बसुन्धरा भुसालले नवगठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले सौन्दर्य व्यवसायलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउने दिशामा संघले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै महिला उद्यमशीलता र आत्मनिर्भरता प्रवर्द्धनमा संघको योगदान उल्लेखनीय रहने धारणा राख्नुभयो ।

संघकी नवनिर्वाचित अध्यक्ष सुन्दरी कारँजित (सोनी)ले देशभर छरिएका सौन्दर्य उद्यमीहरूलाई एकताबद्ध गर्दै उनीहरूको हक(हित संरक्षण, सीप विकास तथा व्यावसायिक सुरक्षामा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनुसार तालिम सञ्चालन गरी नेपाली सौन्दर्य क्षेत्रलाई थप सुदृढ बनाइने उहाँको भनाइ थियो ।

समारोहमा वरिष्ठ ब्युटिसियन डा। राज्यलक्ष्मी श्रेष्ठले विभिन्न संघ(संस्थालाई सफलतापूर्वक सञ्चालन गर्दै आएकी सुन्दरी कारँजितले सौन्दर्य उद्यमीहरूलाई एउटै छातामुनि ल्याउने सराहनीय कार्य गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, सदस्य तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति थियो । सहभागीहरूले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघको आगामी यात्रामा सहकार्य र समर्थन रहने विश्वास व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार