काठमाडौं,
फागुन १२ ।
चलचित्र ‘प्रवासी जीवन’ मा समावेश ‘ढल्दा लागेको घाउ’ बोलको गीत सार्वजनिक भएको छ । सौरभ तिम्सिनाको शब्द, प्रमोद खरेलको स्वर र नवीन कार्कीको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
प्रवासी जीवनका कथावस्तुमा आधारित यो गीतले प्रवासीको पीडा, संघर्ष र भावनात्मक अनुभूति प्रस्तुत गरेको बताइएको छ । यही फागुन १५ देखि प्रदर्शनमा आउने तयारी गरेको यो चलचित्रमा नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा छ ।
गीतको भिडयिोको सिनेम्याटोग्राफी अमृत बिस्वाले गर्नुभएको छ भने सम्पादन राम अधिकारीको छ । लक्ष्मण अधिकारी सहायक निर्देशक र देवी खतिवडा मेकअप आर्टिस्ट रहनुभएको छ ।
यस चलचित्रलाई श्याम क्षेत्रीसँगै राम अधिकारीले संयुक्त रुपमा निर्देशन गर्नुभएको छ । प्रवासीहरूको सुख दुःख, आरोह अवरोह र चुनौतीहरूलाई मुख्य विषयवस्तु बनाएर चलचित्र तयार गरिएको निर्देशक मध्येका एक श्याम क्षेत्रीले बताउनुभयो । उहाँले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर चलचित्र तयार परेकोले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न फिल्म फलदायी हुने बताउनुभयो ।
चलचित्रमा राजेश हमाल, सरिता लामिछाने, बुद्धी तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुबेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीसँगै स्वयम् निर्देशक क्षेत्रीको महत्वपूर्ण भूमिका छ । चलचित्रको कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गर्नुभएको हो ।
अमेरिकाको रमणीय दृश्यमा सम्पूर्ण छायाङ्कन गरिएको यस चलचित्रलाई श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको हो । ‘डाईङ क्यान्डल’, ‘चक्कर’, ‘जय श्री दाम’, ‘केटीएम कक्टेल’, ‘सरिता’ फिल्म निर्माण गर्नुभएका छायांकार रविन आचार्यले यस चलचित्रलाई निर्माण गर्नुभएको हो ।






