काठमाडौं,
फागुन ११ ।
सोमबार बिहान धादिङस्थित त्रिशूली नदीमा बस खस्दा १७ जनाको निधन भएको छ भने २८ जना घाइते भएका छन् । धादिङ प्रहरीका अनुसार पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस बिहान करिब १ः३० बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका-५,भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।
दुर्घटनामा १७ जनाको निधन भएको र २८ जना घाइते रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरूलाई उद्धार गरी विभिन्न अस्पताल लगिएको छ।
बसमा जम्मा ४५ यात्री थिए । पोखराबाट ४३ जना चढेको र मुग्लिनमा दुई वा तीन जना यात्री थपिएको भन्ने एकिन नभएको प्रहरीले जनाएको छ । मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ। दुर्घटनाको कारण खुलेको छैन ।






