काठमाडौं
फागुन ९ ।
इजिप्टमा आयोजना हुने प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेशनल २०२६मा नेपालको प्रतिनिधित्व सेजल राजभण्डारीले गर्ने हुनुभएको छ । ग्रीन आर्ट मिडियाले सेजललाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२६’को ताज पहिर्याउँदै उक्त प्रतियोगिताका लागि आधिकारिक प्रतिनिधि चयन गरेको हो ।
बिहीबार साँझ महाराजगञ्जस्थित द हाइट रेस्ट्रो एण्ड वेलनेसमा आयोजित विशेष समारोहबीच गत वर्षकी ‘मिस इको इन्टरनेशनल नेपाल २०२५’ विजेता संस्कृति भट्टले सेजललाई ताज हस्तान्तरण गर्नुभएको थियो ।
ताज पहिरिएपछि सेजलले यो अवसरलाई आफ्नो जीवनको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । अवसरका लागि ग्रीन आर्ट मिडियाप्रति आभार व्यक्त गर्दै उहाँले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मौलिक संस्कृति तथा पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
आगामी अप्रिलमा इजिप्टमा हुने प्रतियोगितामा ७५ भन्दा बढी देशका प्रतियोगी सहभागी हुनेछन् । सेजल उक्त प्रतियोगितामा नेपालको एक्लो प्रतिनिधिका रूपमा सहभागी हुनुहुनेछ । प्रतियोगिताको तयारीका लागि ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठलगायतका विज्ञबाट विशेष ग्रुमिङ प्रदान गरिने जनाइएको छ । श्रेष्ठ सन् २०१५ देखि उक्त प्रतियोगिताका लागि नेपालको आधिकारिक राष्ट्रिय निर्देशकका रूपमा संलग्न रहँदै आउनुभएको छ ।
‘ब्युटी फर इको’ नारासहित एल.टी.सि.पि.अर्गनाइजेशनले सन् २०१५ देखि इजिप्टमा प्रतियोगिता आयोजना गर्दै आएको छ । वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाएको प्रतियोगितामार्फत विश्वभरका पर्यावरणीय तथा सांस्कृतिक विषयलाई अन्तर्राष्ट्रिय सञ्जालमार्फत प्रवाह गर्ने लक्ष्य रहेको ग्रीन आर्ट मिडियाका सिइओ प्रविन लाकौलले जानकारी दिनुभयो ।






