काठमाडौं,
फागुन ९ ।
एक्टिभ इन्टरटेनमेन्टको प्रस्तुति रहेको देशभक्तिपूर्ण नयाँ स्वदेश गीत ‘म झुक्न दिन्न मेरो देशको झण्डा’ सार्वजनिक गरिएको छ । विसं. २००७ सालको ऐतिहासिक परिवर्तनको सम्झनामा मनाइने प्रजातन्त्र दिवसको अवसर पारेर गीत सार्वजनिक गरिएको हो ।
राष्ट्रप्रेम, स्वाभिमान र राष्ट्रिय एकताको भाव बोकेको उक्त गीतमा डिबी पराजुलीको शब्द, रूपक डोटेल र मेनुका राईको स्वर रहेको छ । संगीत संयोजन विजेन्द्र नौबागेले गर्नुभएको हो ।
गीतको भिडियोमा विजेन्द्र नौबागे, सैलेश ठकुरी, सुशीला तामाङ, पवित्रा अर्याल ‘पबि’, लिला खनाल, एकराज सुवेदी, दिपिका खनाल, रोजबहादुर तामाङ, सुनिता थापा, केवी खाती, लक्ष्मण श्रेष्ठ, कल्पना श्रेष्ठ, जितबहादुर हमाल, उत्तम घिमिरे र सुन्दर खनाललगायत कलाकारको अभिनय छ । बालकलाकारका रूपमा मन्दिप सिलवाल, स्मिथविक्रम पराजुली, फियोना ठकुरी, इज्ना ठकुरी र आयन थापा सहभागी हुनुहुन्छ ।
भिडियोको छायांकन केशव अधिकारीले गर्नुभएको हो भने सम्पादन प्रेम शर्मा पौडेलको छ । निर्देशन दिपेश एसकेले गर्नुभएको छ ।
गीतको भिडियो एक्टिभ इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको गीतले केवल सांगीतिक प्रस्तुतिमात्र नभई राष्ट्रिय स्वाभिमानको चर्चा गरिएको छ । गीत सार्वजनिक कार्यक्रममा भिडियोमा आबद्ध कलाकार तथा प्राविधिकलाई मायाको चिनो प्रदान गरिएको थियो ।






