इलाममा फ्रेन्डस् सिनेमा

इलाम,
फागुन ३ ।

नेपाली चलचित्र उद्योगमा नयाँ पाइला राख्दै फ्रेन्डस् सिनेमाले आफ्नो तेस्रो शाखा इलाममा विस्तार गरेको छ । धरान र बुटवलपछि इलाम नगरपालिका-७ मा सञ्चालनमा आउँदै गरेको यस चलचित्र घरमा आउँदो शुक्रबारदेखि चलचित्र प्रदर्शन सुरु हुनेछ ।

फ्रेन्डस् सिनेमा निर्देशक आशिस एच.तामाङका अनुसार, साढे तीन करोड रुपैयाँ लगानीमा निर्माण गरिएको यो चलचित्र घरमा १९० सिट क्षमता रहेको छ । चलचित्र विकास बोर्डले पनि शुक्रबारदेखि सञ्चालनको अनुमति प्रदान गरिसकेको छ ।

‘ठूला शहरमा मात्रै चलचित्र घर रहेको अवस्थामा हामीले गाउँगाउँमा पनि चलचित्र हेर्ने वातावरण बनाउनु आवश्यक छ । सिनेमाको बजार विस्तार गर्न चाहन्छौं भने हरेक जिल्लामा सुविधासम्पन्न हल सञ्चालनमा ल्याउनुपर्छ,’ तामाङले भन्नुभयो । उहाँले सम्भव भएसम्म अन्य जिल्लामा पनि हल विस्तार गर्ने योजना रहेको बताउनुभयो । उहाँका अनुसार, नेपाली चलचित्रको बजार वृद्धि गर्ने हो भने पहिले घरेलु बजार बलियो बनाउन जरुरी छ । अहिले ठूला सहरबाहेकका दर्शकलाई हलमा चलचित्र हेर्ने वातावरण नहुँदा, जिल्लास्तरमा साना–साना चलचित्र घर खोल्दा घरेलु बजार दोब्बरभन्दा बढी बढ्ने सम्भावना रहेको तामाङले उल्लेख गर्नुभयो ।

यसमा तपाइको मत

अन्य समाचार