काठमाडौं,
फागुन ३ ।
महाशिवरात्रिको अवसर पारेर रुचि घिमिरे र दीपक रमणको नयाँ शिव भजन ‘जय भोलेबाबा’ सार्वजनिक गरिएको छ । भगवान् शिवको महिमा समेटिएको उक्त भजनलाई कलाकारद्वयले नयाँ शैलीमा प्रस्तुत गर्नुभएको छ । भजनमा शब्द स्वयं गायिका रुचि घिमिरेको छ भने संगीत दीपक रमणले तयार पार्नुभएको हो ।
संगीत संयोजन सञ्जय हमालले गर्नुभएको छ । गीतको मिक्सिङ तथा मास्टरिङ विशन मानन्धरले गर्नुभएको हो भने अडियो रिङ स्टुडियोमा रेकर्ड गरिएको छ ।
सार्वजनिक भजन छमछम नाच्न मिल्ने शैलीमा तयार गरिएको छ । ‘भजनलाई दर्शक-श्रोताले सुन्नमात्र होइन, रमाएर नाच्न पनि सकुन् भन्ने उद्देश्यले तयार गरेका हौं’, गायिका घिमिरेले बताउनुभयो । भिडियोमा गायिका रुचि घिमिरे र गायक दीपक रमणका साथै सन्तोष कुमाल, कृतिका पौडेल, निर्बिशा राउत, अञ्जी तामाङ, अस्मिता तामाङ र रामकृष्ण सिलवालको अभिनय देख्न सकिन्छ ।
त्यसैगरी सन्तमान श्रेष्ठ, विकेश महर्जन, राजेन्द्रकुमार सिलवाल, दिनेश रमण डंगोल, रश्मि सिंह, समीक्षा धिमाल, पूर्णाञ्जलि कुँवर र सूर्यमान श्रेष्ठको समूह नृत्यले भिडियो अझ आकर्षक बनेको छ ।
भिडियो निर्देशन दीपक रमणले गर्नुभएको हो भने नृत्य निर्देशन कृष्णप्रसाद पौडेलको छ । छायांकन तथा सम्पादन वीरेन्द्र भाट (बिपिन)ले गर्नुभएको हो भने भिडियोको पोष्ट-प्रोडक्सन ओम नमः शिवाय फिल्मस्ले गरेको हो । भजन गायिका रुचि घिमिरेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






