महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सम्पूर्ण तयारी पूरा

काठमाडौं,
फागुन ।

यही आइतबार मनाइने महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आराध्यदेव पशुपतिनाथ मन्दिर क्षेत्रमा श्रद्धालु भक्तजन, साधुसन्त तथा दर्शनार्थीको आगमन बढ्न थालेको कोषले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा १७१ सदस्यीय मूल समारोह समिति गठन गरी तयारी तीव्र पारिएको छ । पर्व व्यवस्थापनका लागि नौ वटा विषयगत उपसमिति परिचालन गरिएका छन् ।
महाशिवरात्रिका दिन बिहान २ बजेदेखि मन्दिरका चारै ढोका खुला गरिने निर्णय गरिएको छ । नेपाल, भारत, भुटान, बंगलादेश र म्यान्मारलगायत विभिन्न देशबाट भक्तजन आउने क्रम बढ्दो छ ।

सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग परिचालन गरिएको छ भने स्वास्थ्य सेवा, एम्बुलेन्स तथा स्वयंसेवक टोली तयारी अवस्थामा राखिएको कोषले जनाएको छ । तिलगंगा, हंशमण्डप र वनकाली क्षेत्रमा निःशुल्क आवास तथा भोजनको व्यवस्था मिलाइएको छ ।

कोषका सदस्य सचिव प्रकाशमणि शर्मा भुसालले विश्व शान्तिसँग जोडेर पर्व मनाउने तयारी गरिएको जानकारी दिनुभएको छ । सरसफाइ र पर्यावरण संरक्षणमा विशेष ध्यान दिँदै यसपटक महाशिवरात्रि उल्लासमय रूपमा मनाइने जनाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार