लिस्बन,
माघ २९ ।
नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयोजनामा सोनाम ल्होछारको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । फेब्रुअरी ८ मा आयोजित कार्यक्रममा तामाङ समुदायसँगै पोर्चुगलमा बसोबास गर्ने विभिन्न नेपाली समूदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
निर्वासनमा रहे पनि आफ्नो भाषा, संस्कृति, भेषभूषा र पहिचान जोगाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा नयाँ वर्षको प्रतीक सोनाम ल्होछारको उल्लासपूर्ण झल्को देखिएको थियो । तामाङ समुदायको मौलिक पोशाकमा प्रस्तुत गरिएको सांस्कृतिक नृत्य, गीत तथा परम्परागत प्रस्तुतिहरूले कार्यक्रमलाई उत्सवमय बनाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि एनआरएनए पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमाल तथा विशेष अतिथि पोर्चुगलस्थित नेपाली दूतावासका प्रथम सचिव रामबाबु नेपाल दयले संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।
औपचारिक सत्रमा पोर्चुगलमा सक्रिय विभिन्न सामाजिक, साहित्यिक तथा राजनीतिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति थियो । वक्ताहरूले प्रवासमा नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
सांस्कृतिक कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालबाट विशेष रूपमा आमन्त्रित गायक उर्गेन दोङको प्रस्तुति रहेको थियो । उहाँका लोकप्रिय गीतहरूमा दर्शकहरू उत्साहपूर्वक झुमेका थिए । त्यसैगरी नेपालबाटै आमन्त्रित गायिका रमला पाख्रिनको सुमधुर प्रस्तुति पनि दर्शकहरूले रुचाएका थिए ।
पोर्चुगलमा रहेका स्थानीय कलाकारहरू गायक अर्जुन सुनाम, कला पंगेनीलगायतले पनि आफ्ना प्रस्तुतिमार्फत प्रवासी नेपालीहरूको भावना अभिव्यक्त गर्दै मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका अध्यक्ष इमान शिङ तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमले प्रवासमा रहेका तामाङ समुदायलाई एकताबद्ध बनाउनुका साथै आफ्नो संस्कृति र पहिचानप्रति गर्व गर्ने अवसर प्रदान गरेको सहभागीहरूले बताएका थिए ।
समग्रमा, सोनाम ल्होछार सांस्कृतिक महोत्सवले विदेशमा व्यस्त जीवन बिताइरहेका नेपालीहरूलाई मातृभूमिको संस्कृतिसँग पुनः जोड्ने महत्वपूर्ण माध्यम बनेको आयोजकले जनाएको छ ।






