काठमाडौं,
माघ २० ।
अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (आईएनएलए) ले आफ्नो दोस्रो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन आगामी मार्च २९, २०२६ मा अमेरिकाको पेन्सल्भेनिया राज्यस्थित ल्यांकास्टरमा आयोजना गर्ने भएको छ । नेपाली गीतसंगीतलाई विश्व समुदायमा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संघले उक्त सम्मेलन आयोजना गर्न लागेको हो ।
सम्मेलनको संयोजन तथा व्यवस्थापन ल्यांकास्टरस्थित स्थानीय साहित्यिक संस्था ‘साहित्य कला संगम’ले गर्नेछ । सम्मेलनमा संघका हालसम्मका गतिविधिबारे समीक्षा तथा भावी योजनामाथि छलफल गरिनुका साथै विविध साहित्यिक र सांगीतिक कार्यक्रम प्रस्तुत गरिने जनाइएको छ ।
सम्मेलनकै अवसरमा नेपाली गीतसंगीत तथा गायन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका सातजना सर्जकहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिने जनाइएको छ । संघको निर्णयानुसार यस वर्षको प्रतिष्ठित ‘आइएनएलए ज्ञानेन्द्र गदाल गीत सम्मान’ विशिष्ट कवि तथा लोकप्रिय गीतकार दिनेश अधिकारीलाई प्रदान गरिने भएको छ । अधिकारी उक्त सम्मानबाट सम्मानित हुने दोस्रो व्यक्तित्व हुनुहुन्छ । यसअघि गतवर्ष पहिलो पटक प्रदान गरिएको उक्त सम्मान चलचित्र कलाकार तथा ख्यातिप्राप्त गीतकार नीर शाहलाई प्रदान गरिएको थियो ।
त्यसैगरी, गीत लेखनतर्फ नेपालबाट पुरुषोत्तम लम्साल (पुरु लम्साल) र प्रवासबाट साबु गदाल कार्की, संगीत सिर्जनातर्फ नेपालबाट तृप्ति खड्का र प्रवासबाट अगम गुरुङ, तथा गायनतर्फ नेपालबाट यशोदा पराजुली र प्रवासबाट डम्बर खापुङ सुब्बा सम्मानित हुनुहुने भएको छ ।
आईएनएलए ज्ञानेन्द्र गदाल गीत सम्मानअन्तर्गत सम्मानपत्रसहित अमेरिकी डलर १,००१ नगद प्रदान गरिनेछ भने अन्य छजना सर्जकहरूलाई जनही अमेरिकी डलर ५०० नगदसहित आइएनएलए सम्मानपत्र प्रदान गरिने संघका अध्यक्ष डा.हरि उप्रेतीले जानकारी दिनुभयो ।
संघले यस्ता कार्यक्रममार्फत नेपाली गीत-संगीत र सर्जकहरूको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्य लिएको जनाएको छ ।






