काठमाडौं,
माघ १९ ।
वि.स. २०७० मा स्थापना भएको नेपाल मुक्तक प्रतिष्ठानले आफ्नो तेह्रौँ वार्षिकोत्सवको अवसरमा आइतबार नेपाल पर्यटन बोर्ड, काठमाडौँमा मुक्तक दिवस सम्पन्न गरेको छ । सो अवसरमा प्रतिष्ठानले वरिष्ठ मुक्तककार उषा शेरचनलाई ५१ हजार राशिसहितको ‘भीमदर्शन मुक्तक पुरस्कार’ तथा मुक्तककार डा. रूपक श्रेष्ठ (बेलायत) लाई ३१ हजार रुपैयाँ राशिसहितको ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ प्रदान गरेको छ ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा आयोजित कार्यक्रममा दुबै पुरस्कार पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र अध्यक्ष कोनेले संयुक्त रूपमा प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानद्वारा प्रकाशित प्राडा. लक्ष्मणप्रसाद गौतमको कृति ‘नेपाली मुक्तकको रचनाविधान’, नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाद्वारा प्रकाशित ‘ईलिंग’ स्मारिका तथा डा. रूपक श्रेष्ठका कृतिहरू ‘चौशुल’ र ‘पोक्तक’ (अंग्रेजी संस्करण)को लोकार्पण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुक्तकलाई समाजको संवेदनशील र सूक्ष्म अनुभूतिलाई प्रभावकारी रूपमा व्यक्त गर्ने सशक्त साहित्यिक विधा भएको उल्लेख गर्दै आजको तीव्र गतिको समाजमा मुक्तकले विचार, पीडा, आशा र दर्शनलाई थोरै शब्दमा गहिरो रूपमा अभिव्यक्त गर्न सक्ने बताउनु भयो ।
यसैगरी अध्यक्ष रामकाजी कोनेले मुक्तक दिवसको शुभकामना व्यक्त गर्दै मुक्तक विधालाई ‘थोरैमा धेरै र बिन्दुमा सिन्धु अटाउने साहित्यिक विधा’को संज्ञा दिनुभयो ।
पुरस्कारबाट सम्मानित वरिष्ठ मुक्तककार उषा शेरचनले यस सम्मानले मुक्तकप्रतिको जिम्मेवारी अझ बढाएको बताउँदै मुक्तकलाई जीवनका अनुभूति, पीडा र प्रेमको सूक्ष्म तर गम्भीर अभिव्यक्ति भएको धारणा राख्नुभयो ।
अर्का सम्मानित डा. रूपक श्रेष्ठले मुक्तकलाई आत्मअनुशासन र चेतनाको अभ्यासका रूपमा व्याख्या गर्दै मुक्तक लेखन शब्दको खेल मात्र नभई लेखकलाई जिम्मेवार र पाठकलाई संवेदनशील बनाउने विधा भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्राडा. लक्ष्मणप्रसाद गौतम, समालोचक केशव सिग्देल, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, तथा प्रतिष्ठानका पूर्व महासचिव रमेश पौडेललगायतले मन्तव्य राख्दै नेपाली मुक्तकको विकास, विस्तार र अन्तर्राष्ट्रिय पहिचानबारे विचार व्यक्त गर्नुभएको थियो ।
प्रतिष्ठानका उपाध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्नु भएको कार्यक्रममा महासचिव यादव भट्टराईले सहजीकरण गर्नु भएको थियो ।
कृति लोकार्पण, पुरस्कार समर्पण र मुक्तक वाचनसहित सम्पन्न कार्यक्रममा सहभागीहरूले नेपाली मुक्तक साहित्यको वर्तमान अवस्था र सम्भावनालाई सशक्त रूपमा उजागर गरेको धारणा व्यक्त गरेका थिए । प्रतिष्ठानले आगामी दिनमा पनि मुक्तक विधाको प्रवर्द्धन, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
कार्यक्रममा साहित्य, समालोचना र मुक्तक विधासँग सम्बन्धित विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।






