काठमाडौं,
माघ १७ ।
शहीद दिवसको अवसर पारेर राग रागिनी इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण गरिएको राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक गरिएको छ । माघ १६ गते शहीद दिवसकै दिन राग रागिनी इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । गीतमा कपिल कसपालको स्वर तथा शब्द रहेको छ भने संगीत भूपेन्द्र रायमाझीले तयार गर्नुभएको हो । गीतको भिडियो निर्देशन निशान एसकेले गर्नुभएको छ ।
राजधानीको होटल शंकर, काठमाडौंमा आयोजित एक भव्य तथा औपचारिक कार्यक्रममार्फत् गीतको लोकार्पण गरिएको थियो । कार्यक्रममा पूर्व अर्थमन्त्री तथा गीतकार शंकर कोइराला प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
गीतकार तथा गायक कपिल कसपालले ‘नेपालको छोरो’ आफूले समाजप्रतिको जिम्मेवारी र भावनात्मक समर्पणका साथ सिर्जना गरेको बताउनुभयो । देश कठिन अवस्थाबाट गुज्रिरहेको सन्दर्भमा सम्पूर्ण नेपालीबीच एकता अपरिहार्य रहेको सन्देश गीतमार्फत् दिन खोजिएको उहाँको भनाइ छ ।
गीतमा राष्ट्रिय एकता कायम गर्न, विदेशी शक्तिको पछि नलाग्न र देश निर्माणको जिम्मेवारी स्वयं नेपालीले नै लिनुपर्ने सन्देश समेटिएको छ । साथै, गीतमा नेपालको प्राकृतिक सुन्दरता र देशप्रेमको भावनालाई विशेष रूपमा प्रस्तुत गरिएको छ । गीतको रेकर्डिङ प्रकाश श्रेष्ठले गर्नुभएको हो ।
राग रागिनी इन्टरटेन्मेन्टका कार्यकारी निर्देशकसमेत रहनुभएका सञ्चारकर्मी कपिल कसपालले शहीद दिवसको अवसरमा राष्ट्रिय भावनाले ओतप्रोत यो गीत नेपाली दर्शक–श्रोतामाझ उपहारस्वरूप प्रस्तुत गरिएको बताउनुभयो । ‘यो देशमै बसेर नेपाल निर्माण गर्नुपर्छ भन्ने सकारात्मक सन्देश सम्पूर्ण नेपालीलाई दिन चाहेको छु,’ उहाँले भन्नुभयो ।






