यस्तो छ ‘कुमारी’को ट्रेलर

काठमाडौं,
माघ ११ ।

यही माघ २३ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कुमारी’ को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार साँझ काठमाडौंको भृकुटीमण्डपमा आयोजित भव्य कार्यक्रमकाबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । तीन मिनेटभन्दा लामो ट्रेलरमा फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे प्रकाश पारिएको छ ।

लाइभ म्युजिकल कन्सर्टसहित हजारौं दर्शकको उपस्थितिमा ट्रेलर सार्वजनिक गरिएको कार्यक्रममा चलचित्रप्रति दर्शकको उत्साह देखिएको थियो । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार आकृति राजभण्डारी र अभिषेक खड्काबीचको प्रेम, सम्बन्ध र भावनात्मक उतारचढावलाई प्रस्तुत गरिएको छ । ट्रेलरले उहाँहरूको प्रेममा सामाजिक मूल्य–मान्यता र पारिवारिक अवरोधले सिर्जना गर्ने संघर्ष र टकरावलाई चित्रण गरेको छ ।

कार्यक्रममा ‘केहर सिंह लिम्बु एण्ड द लुङा’को विशेष सांगीतिक प्रस्तुतिसमेत दिएको थियो । त्यस्तै, शीर्ष कलाकार आकृति र अभिषेकले चलचित्रको गीतमा नृत्य प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिनुभएको थियो । सो अवसरमा नेपाली चलचित्र क्षेत्रका केही चर्चित कलाकारहरू ‘कुमारी’ टिमलाई शुभकामना दिन कार्यक्रममा सहभागी हुनुभएको थियो ।
चलचित्र टिमले उपस्थित दर्शक तथा शुभेच्छुकहरूलाई धन्यवाद दिँदै फिल्म र संगीतको उत्सवमा सहभागी हुन सबैलाई निमन्त्रणा गरेको थियो ।

दिनेश राउतको निर्देशनमा निर्माण भएको लभस्टोरी चलचित्र ‘कुमारी’ मा आकृति राजभण्डारी र अभिषेक खड्कासँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, शकु शाह, सरोज लामिछाने, मनसा शर्मा लगायतका कलाकारको अभिनय छ ।

‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता रोमान्टिक चलचित्रमार्फत दर्शकमाझ चिनिनुभएका दिनेश राउतले ‘कुमारी’को निर्देशन गर्नुभएको हो । यसैमार्फत उहाँ आठ वर्षपछि लभस्टोरी चलचित्रमा फर्किनुभएको हो ।

महेन्द्र अधिकारी निर्माता रहेको यस चलचित्रका लेखक विकास सुवेदी हुनुहुन्छ भने कार्यकारी निर्मातामा केदार भुसाल रहनुभएको छ । चलचित्रको छायांकन सुशन प्रजापतिले गर्नुभएको हो भने सम्पादन सुप्रिम पराजुलीले गर्नुभएको छ । चलचित्रका गीतहरू यतिबेला दर्शक र श्रोता÷दर्शकमाझ चर्चामा रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार